काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३४ प्रतिशत अर्थात ९.०८ अंकले घटेर २ हजार ६५५.३८ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ४५४.०९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको कारोबार पछिल्लो तीन महिनापछिकै उच्च हो । यसअघि गत फागुन २० गते १२ अर्ब ९४ करोड बढीको कारोबार भएको थियो । त्यसपछि आज उच्च कारोबार भएको हो ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले भन्छन् ‘केही दिन बढेको सेयर बजारमा आज नाफा बुक भएकाले परिसूचक घट्न पुगेको छ । यद्यपी आज कारोबार भने बढेको छ । पछिल्लो समय लगानीकर्ताको मनोलमा सुधार आईरहेकाले आत्तिनु पर्ने केही कारण छैन ।’
उनले अब आउने मौद्रिक नीतिमा पनि केही सकारात्मक व्यवस्था भए बजारले असार पछि गति लिन सक्ने बताए । तरलता र ब्याजदर सस्तो रहेकाले दीर्घकालका लागि बजारको अवस्था राम्रो रहने उनले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । होटल समूहमा आज सर्वाधिक चमक देखियो । होटल समूह २.४४ प्रतिशतले बढेको आज फाइनान्स ०.८६, हाईड्रो ०.३२ र म्युचुअल फण्ड समूह ०.०३ प्रतिशतले बढे ।
आज घट्ने समूहमध्ये व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.०८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.४६ प्रतिशत, विकास बैंक ०.९२,लगानी ०.३२, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.४२, निर्जीवन बीमा ०.५६ र अन्य समूह ०.२८ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब ८ लाख बढीको कारोबार भयो । सानिमा माई हाईड्रोको पनि आज ७५ करोड ३८ लाख, राधी विद्युतको ५४ करोड ४१ लाख, युनिभर्सल पावरको ४८ करोड ८८ लाख र बुटवल पावरको ४६ करोड ९० लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज पियोर इनर्जीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यो दिन चन्द्रागिरी हिल्सको सेयरमूल्य पनि आज ६.९१ प्रतिशत,तेह्रथुम पावरको ६.१७, रसुवागढी हाईड्रोपावरको ५.४७ र पन्चकन्या माई हाईड्रोको सेयरमूल्य ५.१३ प्रतिशतले बढ्यो ।
आज गुराँस लघुवित्तको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । यसैगरी रिभर फल्स पावरको सेयरमूल्य ७.११ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.४७ र नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ५.४६ प्रतिशतले घट्यो ।