काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.४५ अंकले घटेर २ हजार ५९५.७४ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले घटेर ४४३.९० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा स्क्रिप्टको १ करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर ७ अर्ब ७८ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार सालिकराम ढकाल भन्छन्, ‘केही दिनदेखि लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । असारको चापका कारण सेटलमेन्टको प्रभाव समेत बजार परेको हुनसक्छ । यो महिना ब्याज र किस्ता तिनुपर्ने भएकाले बजारमा दबाब देखिएको हो ।’
उनले आगमी साता पनि बजारमा खासै सुधार नहुने आँकलन गरे ।
अर्का बजार जानकार प्रेम ओलीले पनि सबै विषय सकारात्मक हुँदा पनि बजारमा गिरावट आएको बताए । लगानीकर्ताले सेयर घटाएर खरिद गर्न चाहेकाले बजारमा यस्तो अवस्था देखा परेको उनले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने ९ वटा समूहमा रातो पोतियो । विकास बैंक समूह आज सर्वाधिक अर्थात १ प्रतिशतले बढ्यो । यस्तै हाईड्रो समूह ०.१० प्रतिशत, लघुवित्त ०.१३ र म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढ्यो ।
होटल समूह आज सर्वाधिक अर्थात १.८७ प्रतिशतले घट्यो । फाइनान्स समूह पनि ०.४०, लगानी ०.६४, जीवन बीमा ०.३४,उत्पादन तथा प्रशोधन ०.३१, निर्जीवन बीमा ०.४१, अन्य समूह ०.२३, व्यापार ०.२० र बैंकिङ ०.१२ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन बुटवल पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ६२ करोड ५२ लाख बढीको सेयर कारोबार भयो । राधी विद्युतको पनि आज ३९ करोड २० लाख, ङादी ग्रुप पावरको ३२ करोड ३२ लाख, सिंगटी हाईडोको ३१ करोड ६१ लाख र बरुण हाईड्रोको २८ करोड ५ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । सर्वाधिक कमाउने कम्पनीको रुपमा आज ग्रीन डेभलपमेन्ट बैंक रह्यो । यो कम्पनीको सेयरमूल्य ९.१८ प्रतिशतले बढ्यो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९ प्रतिशत,बरुण हाईड्रोको ८.९३,पिपुल्स हाईड्रो ७.१४ र सुपर मादी हाईड्रोको सेयरमूल्य ६.८४ प्रतिशतले बढ्यो ।
ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्यमा आज सर्वाधिक गिरावट देखियो । यो कम्पनीको सेयरमूल्य ९.३० प्रतिशतले घट्यो । पियोर इनर्जीको सेयरमूल्य पनि आज ४.८६ प्रतिशत र जोशी हाईड्रोको ४.४५ प्रतिशतले ओरालो लाग्यो ।