काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । लगातार तेस्रो दिन बढ्ने क्रममा आज नेप्से परिसूचक १.०९ प्रतिशत अर्थात २८.९१ अंकले बढेर २ हजार ६६०.३९ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४४ प्रतिशतले बढेर ४५७.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ५७ लाख ६४ हजार कित्ता सेयर ७ अर्ब ३ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘लामो समय साइडवेज चलेको बजार अब बढ्ने नै हो । राष्ट्र बैंकले जोखिमभार घटाएका कारण समेत बजारमा केही सहजता देखिएको छ । पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता पनि बजार प्रवेश गर्दैछन् ।’
राष्ट्र बैंकको सर्कुलरले बैंक तथा वित्तीय संस्थालाई सहज भएका कारण बजारमा सुधार देखिने उनले बताए ।
अर्का बजार जानकार नीमानन्द कंडेलले लगातार ३ दिन बजार बढ्नुले लगानीकर्ताले यसअघिनै ब्याजको जोहो गरिसकेको प्रष्ट भएको बताए । उनले कारोबारको हिसाबले बजारको अवस्था सन्तोषजनक नै रहेको बताए । यद्यपी एक दुई दिनको कारोबारपश्चात मात्रै बजारमो आगमी दिशा स्पष्ट हुने उनको भनाई छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लगानी समूह सर्वाधिक अर्थात २.३८ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.०९ प्रतिशत, विकास बैंक १.२१, फाइनान्स ०.५५, होटल ०.५७, हाईड्रो १.३८, जीवन बीमा १.१२,लघुवित्त २.२२, म्युचुअल फण्ड ०.३३, निर्जीवन बीमा १.०५ र अन्य ०.४८ प्रतिशतले बढ्यो ।
उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह आज क्रमशः०.०७ र ०.६१ प्रतिशतले घटे ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४६ करोड १६ लाख बढीको सेयर कारोबार भयो । राधी विद्युत कम्पनीको पनि आज ४५ करोड ५५ लाख, बुटवल पावरको २५ करोड ८३ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड २० लाख र युनियन हाईड्रोपावरको २५ करोड १६ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । सामुदायिक लघुवित्त र न्यादी हाईड्रोपावरको सेयरमूल्यमा मात्रै आज अपर सर्किट लाग्यो ।
यस्तै बरुण हाईड्रोको सेयरमूल्य ८.४१ प्रतिशत, राप्ती हाईड्रोको ८.३१ र सपोर्ट माईक्रोफाइनान्सको ८.०९ प्रतिशतले बढ्यो ।
युनिलिभर नेपालको सेयरमूल्य आज सर्वाधिक अर्थात २.१३ प्रतिशतले ओरालो लाग्यो । गार्डियन माईक्रो लाइफको सेयरमूल्य पनि आज १.६९ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्सको १.४९ प्रतिशतले घट्यो ।