काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सले विगत डेढ वर्षदेखि हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएपनि हालसम्म नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गर्न सकेको छैन ।
२०८० साल फागुन २० गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेपनि कम्पनीको यसबाहेकको प्रक्रिया अघि बढेको छैन ।
सेयरबजारमा हकप्रदकै चर्चाले हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ समय–समयमा उचालिने र त्यसको केही दिनपछि फेरी ह्वात्तै घट्ने अवस्था पटक–पटक देखिएको छ ।
कम्पनीले डेढवर्ष अघि नै ८ अर्ब ३२ करोड रुपैयाँबराबरको हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेपनि विभिन्न कारणले प्रक्रिया अघि बढ्न सकेको छैन ।
नेपाल बीमा प्राधिकरणले रि इन्स्योरेन्सको चुक्तापूँजी २० अर्ब पुर्याउन भनेपछि हिमालयन रि इन्स्योरेन्सले हकप्रदको बाटो रोजेको थियो । २०८० मा कम्पनीले कायम चुक्तापूँजी १० अर्ब रुपैयाँको ८० प्रतिशत हकप्रद निष्कासन गरी चुक्तापुँजी १८ अर्ब पुर्याउने योजना बनाएको थियो ।
प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई चुक्तापूँजी बृद्धि गर्न निर्देशन दिएबमोजिम एक दर्जन भन्दा बढी बीमा कम्पनीले हकप्रदको बाटो रोजेर धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । केहीले हकप्रद निष्कासन समेत गरिसकेका छन् ।
तर यता हिमालयन रि ले योजनाबमोजिम हकप्रदको प्रक्रिया तीव्र रुपमा अघि बढाउन सकिरहेको छैन । अहिले हिमालयन रि इन्स्योरेन्सको हकप्रदको विषयमा दोस्रो बजारमा निकै चर्चा छ । अन्य बीमा कम्पनीको हकप्रद आइरहँदा हिमालयन रि को कहिले आउने भन्ने सेयर लगानीकर्ताहरुमा जिज्ञासा समेत देखिएको छ ।
कम्पनीले बीमा प्राधिकरणको सैद्दान्तिक स्वीकृति बिना नै साधारण सभाबाट हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेकाले केही समयको लागि प्रक्रिया रोकिएको थियो ।
साथै, कम्पनीले हकप्रद निष्कासनको लागि प्राधिकरणबाट अन्तिम स्वीकृति लिएर नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ । स्रोतका अनुसार बीमा प्राधिकरणले कम्पनीलाई हकप्रद निष्कासनको लागि अन्तिम स्वीकृति समेत दिइसकेको छ । तर कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिन भने बाँकी नै रहेको छ ।
नियामककै कारण लम्बियो प्रक्रिया
हिमालयन रि इन्स्योरेन्सको हकप्रद तत्कालै नआउने देखिएको छ । कम्पनीको हकप्रद निष्कासनको प्रक्रिया लम्बिनुको मुख्य कारण नै प्राधिकरण रहेको छ ।
कम्पनी स्रोतका अनुसार प्राधिकरणले यसभन्दा अघि सैद्दान्तिक अनुमति नलिएको भन्दै कम्पनीको फाइल रोकिदिएको थियो । सो कारण नै प्राधिकरणले केही समयसम्म हिमालयन रिलाई हकप्रद निष्कासनको लागि अन्तिम स्वीकृति दिन रोकेका थियो ।
रि इन्योरेन्सको चुक्तापूँजी बृद्धि गर्ने विषयमा नेपाल बीमा प्राधिकरण थप लचक बन्दै पूँजी बृद्धिका लागि थप एक वर्ष समयसीमा थपिदिएको छ । जसबमोजिम हिमालयन रि को हकप्रद प्रक्रिया झनै लम्बिन पुगेको छ । प्राधिकरणले नै एक वर्ष म्याद थपिदिएपछि हिमालयन रि इन्स्योरेन्सको हकप्रद निष्कासन प्रक्रिया कछुवा गतिमा देखिएको छ ।
यसमा सेयर लगानीकर्ताहरु तत्कालका लागि हिमालयन रि को हकप्रदमा लगानी गर्नबाट बञ्चित भएका छन् । प्राधिकरणका अनुसार दुई पुनर्बीमा कम्पनीले २०८२ माघ मसान्तभित्र चक्तापूँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्नेछ । कम्पनीको हाल कायम चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
८० प्रतिशत नआउने सम्भावना
नेपाल बीमा प्राधिकरणका अनुसार हिमालयन रि इन्स्योरेन्सले ८० प्रतिशत नै हकप्रद ल्याउने सम्भावना न्यून देखिएको छ । कम्पनीले हकप्रदमार्फत मात्रै तोकिएको पुँजी पुर्याउन नमिल्ने प्राधिकरणका उप–निर्देशक शाम्भाराज लामिछानेले बताए ।
‘हिमालयन रि लाई हकप्रद निष्कासनको लागि स्वीकृति दिइसकेका छौं, त्यसपछि कम्पनीले दुईवटा फाइनान्सियल रिपोर्ट पास गरिसकेको छ, त्यसमा नाफाहरुको अवस्था पनि क्याल्कुलेसन हुने भएकाले कति प्रतिशत हकप्रद जारी गर्ने त्यसबाट मात्रै फाइनल हुन्छ’ उनले भने, ‘कम्पनीले ८० प्रतिशत नै हकप्रद गर्न पर्दैन, कम्पनीले चालु आवको यस अवधिसम्ममा उल्लेख्य नाफा कमाएको छ, त्यसबाट कम्पनीले राम्रो बोनस सेयर जारी गरेर पुँजी बढाउन सक्नेछ ।’
हिमालयन रि ले जति आवश्यक छ त्यति मात्रै हकप्रद जारी गर्न पाउने लामिछानेले बताए । ‘कम्पनीले कमाएको नाफाका आधारमा लगानीकर्तालाई बोनसको माध्यमबाट पनि पूँजी बढाउनुपर्नेछ’ उनले भने, ‘बढीमा ८० प्रतिशत हकप्रद जारी गर्ने भनेपनि तोकिएको पूँजीका लागि नाफा क्याल्कुलेशन गर्दा त्यति धेरै हकप्रद निष्कासन गर्नुपर्दैन, कम्पनीले कमाएको नाफा कम्पनीलाई मात्रै नभई लगानीकर्तालाई पनि वितरित हुनुपर्छ ।’