काठमाण्डौ । धोकापूर्ण कारोबारको अभियोगमा १० दिन हिरासत भएर मुक्त भएलगत्तै सेयर कारोबारी दीपेन्द्र अग्रवालले चलाएको स्टकको मूल्यमा फेरि उछालको अवस्था देखिएको छ।
जिल्ला अदालत काठमाण्डौको आदेशबाट सेयर कारोबारी अग्रवाल बुधबार हाजिरी जमानीमा थुनामुक्त भएका थिए ।
उनी हिरासतमुक्त भएको भोलिपल्ट अर्थात बिहीबार सेयर कारोबार खुलेलगत्तै उनले चलाएका स्टकहरुको मूल्य निरन्तर बढेको थियो । बढ्ने क्रम बजार अन्त्य हुँदासम्म जारी रह्यो र आजको टप गेनरहरुको सूचीमा दीपेन्द्रले चलाएका स्टकहरुको दबदबा देखियो ।
आज सेयर बजार परिसूचक(नेप्से) ३१.५० अंकले घटे पनि नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको मूल्यमा उछाल देखियो ।
सिन्धु विकास बैंकबाहेकका अन्य कम्पनीको सेयरमूल्य सर्किट लेभलमा पुग्यो ।
आज धेरै कमाउने कम्पनीहरुको सूचीमा पहिलो नम्बर टेड टावर रह्यो । त्यसपछिका बाँकी ५ वटा कम्पनी अग्रवालले चलाइरहेका कम्पनी देखिए ।
नेपाल फाइनान्सको मूल्यमा अपर सर्किट लागेका कारण अन्यमा समेत सकारात्मक माहौल देखियो । यहीकारण बिहीबार फाइनान्स सब इण्डेक्समा सुधार देखियो, बाँकी सबै उपसमूहमा रातो पोतियो ।