काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०६ प्रतिशत अर्थात ३१.५० अंकले घटेर २ हजार ९२२.६३ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३२ प्रतिशतले घटेर ५०१.१२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘केही समयदेखि लगातार बढेको बजारमा हिजाआज करेक्सन आएको छ । यसले बजारलाई थप मजबुत बनाउन सहयोग गरेको छ । आधारभूत रुपमा हेर्दा अहिले डराउनु पर्ने कुनै कारण छैन । अल्पकालिन लगानीकर्ताले नाफा बुक गर्दा बजार घटेको हो ।’
उनले अर्को साताबाट बजार फर्कनेमा विश्वास व्यक्त गरे ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पनि नाफा बुककै कारण बजारमा दबाब आएको बताए । यसका साथै उधारो कारोबारको सेटलमेन्ट र आईजिनको विषय जस्ता कारणले बजार घटेको उनले बताए ।
‘अर्थतन्त्रका सबै सूचक सकारात्मक छन् । त्यहि कारण बजार घट्नु पर्ने अन्य कुनै कारण छैन । आगामी साताबाट भने बजारले पुनः लय समात्ने छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज फाइनान्स समूह १.१८ प्रतिशतले बढ्यो ।
व्यापार समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज २.४४ प्रतिशतले ओरालो लाग्यो । यो दिन बैंकिङ समूह १.४४ प्रतिशत,विकास बैंक, ०.४७, होटल ०.९९, हाईड्रो १.१५, लगानी १.३२, जीवन बीमा १.२९, उत्पादन तथा प्रशोधन १.१४, लघुवित्त ०.५०, म्युचुअल फण्ड ०.६०, निर्जीवन बीमा ०.७० र अन्य समूह ०.३० प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १ अर्ब ३३ करोड बढीको सेयर कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ७५ करोड ३५ लाख, हिमालयन डिष्टिलरीको ६९ करोड ९ लाख, शिवम् सिमेन्टको ६७ करोड ११ लाख र लुम्बिनी विकास बैंकको ४१ करोड २७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । ट्रेड टावर, नेपाल फाइनान्स,कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
सिन्धु विकास बैंकको सेयरमूल्य पनि आज ६.७४ प्रतिशत, सान्भी इनर्जीको ५.३९ र महुली लघुवित्तको सेयरमूल्य २.८१ प्रतिशतले बढ्यो ।
भूगोल इनर्जीको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.१० प्रतिशतले घट्यो । माईखोला हाईड्रोको सेयरमूल्य पनि आज ५.७० प्रतिशत र अपर सोलु हाईड्रोको सेयरमूल्य ४.९४ प्रतिशतले घट्यो ।