काठमाण्डौ । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।
साउन १६ गते बसेको. कम्पनीको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी भदौ ११ गते रुपन्देहीमा रहेको कम्पनीको कार्यालयमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।
सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र पूँजी वृद्धि गर्न कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछन् । यस्तै गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै वित्तीय विवरणहरु समेत पारित गरिनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पूँजीको २० प्रतिशत आईपीओ सर्वसाधारणलाई निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडसँग आईपीओसम्बन्धी सम्झौता समेत गरिसकेको छ ।