काठमाण्डौ । लगानी समूहका कम्पनीहरुले गत आवको अन्त्यसम्म ४ अर्ब ६८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा अघिल्लो आवको तुलनामा १३.३९ प्रतिशत बढी हो । अघिल्लो आवको अन्त्यसम्म लगानी समूहका कम्पनीहरुले कुल ४ अर्ब १३ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका थिए ।
गत आवमा सबैभन्दा धेरै नाफा कमाउनेमा नागरिक लगानी कोष रहेको छ । यो कम्पनीले १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा १३.७१ प्रतिशत बढी हो ।
त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि सो अवधिसम्म १ अ र्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १३.९१ प्रतिशत कम हो । अघिल्लो आवमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ९७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३२।९८ प्रतिशत कम हो ।
यता एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले भने ८९१.८२ प्रतिशतले बढाएर गत आवमा ६७ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, सिइडिबी होल्डिङ्स लिमिटेडले ५७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । यो कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ५९९.२० प्रतिशतले वृद्धि भएको छ ।
यसका साथै हाथवे इन्भेष्टमेन्ट कम्पनीले ६ करोड ४९ लाख र इमर्जिङ नेपाल लिमिटेडले ५९ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ ।
लगानी कम्पनीहरुको आम्दानीका स्रोतहरु फरक–फरक भएपनि यी कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गरेर आम्दानी गरेका हुन्छन् । त्यसबाट आर्जित मुनाफाबाट केही प्रतिशत रकम लगानीकर्ताहरुलाई प्रतिफलका रुपमा समेत लगानी कम्पनीहरुले बाँडेका हुन्छन् ।
गत आवको अन्त्यसम्म लगानी समूहका ७ कम्पनीले विभिन्न क्षेत्रमा लगानी गरेर ७ अर्ब २७ करोड १६ लाख रुपैयाँ आम्दानी गरेका छन् । सबैभन्दा धेरै नागरिक लगानी कोषले २ अर्ब ९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
