काठमाण्डौ । विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई हकप्रद निष्कासनमा थप कडाई गर्ने बताएको छ । विद्युत नियमन आयोगका अध्यक्ष राम प्रसाद धितालले आज दोस्रो बजारका विभिन्न लगानीकर्ता संघका पदाधिकारीहरुसँग छलफलको क्रममा यस्तो बताएका हुन् ।
उक्त अवसरमा धितालले प्राविधिक पक्ष नियालेर ५० प्रतिशत प्रोजेक्ट निर्माण कार्य सम्पन्न गरेको कम्पनीहरुलाई आवश्यककताका आधारमा मात्रै हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डलाई सिफारिस गर्ने बताए । धितालले यसमा नियमन आयोगले अझै कडाइ गर्दै जाने समेत जानकारी दिए ।
यस विषयमा ७० लाख लगानीकर्ताहरुको अधिकारप्रति नियमन आयोग सचेत रहेको भन्दै उनले भने, ‘हकप्रद निष्कासन गर्दा थर्ड पार्टी भेरिफिकेसनको आधारमा अनुमति दिने वा नदिने भन्ने निर्क्यौल हुनेछ । त्यही अनुसार आयोगले धितोपत्र बोर्डमा सिफारिस गर्नेछ ।’
यस्तै उनले अब बन्ने कार्यविधिमा केही परिमार्जन गरेर हकप्रद निष्कासनमा कडाई गर्ने बताए ।
लगानीकर्ताहरुको तर्फबाट नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले जलविद्युत कम्पनीहरुले हरेक वर्ष हकप्रद सेयरको खेती नै गर्ने गरेको आरोप लगाए । ‘बत्ति बाल्ने कुनै पनि टुङ्गो नभएका कम्पनीले समेत हकप्रद निष्कासन गर्ने गरेका छन्,’ उनले भने ।
विद्युत नियमन आयोगका अध्यक्ष धितालले उपभोक्ताको अधिकार र लगानीकर्ताहरुको लगानी संरक्षण गर्ने विषयमा आयोग सचेत रहेको जानकारी दिए ।
लगानीकर्ता ऋतुजंग कार्कीले पनि दोस्रो बजारमा जलविद्युत कम्पनीहरुले लाभांश घोषणा र हकप्रदको फण्डा निकालेर सर्वसाधारण फसाउने गरेको गुनासो गरे । सो अवसरमा लगानीकर्ता प्रकाश रजौरे तथा सुरज खड्काले पनि जलविद्युत कम्पनीहरुलाई विद्युत नियमन आयोगले प्रभावकारी रुपमा नियमन गर्नु पर्ने विषयमा आयोगको ध्यानाकर्षण गराएका थिए ।