काठमाण्डौ । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले हकप्रदको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।
भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा असोज ९ गते काठमाण्डौको चप्पल कारखाना चोकमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने, हकप्रदबाट प्राप्त रकमको उपयोग र कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै कम्पनी गाभ्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा सञ्चालक समितिकमो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागीता जनाउनका लागि योग्य हुनेछन् ।