काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५७ प्रतिशत अर्थात १५.६४ अंकले घटेर २ हजार ७२६.३३ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४७०.९४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल सेयरधनी संघका महासचिव सु्रज खड्का भन्छन्, ‘पछिल्लो समय निरन्तर सेयरबजार घट्नुको मुख्य कारण नियामक निकायको कमजोरी हो । १५ मिनेटको व्यवस्थालाई निरन्तरता दिन खोज्नु, आईपीओ निष्कासनका लागि अनुमति दिईरहनु र प्रि–आईपीओबाट धमाधम पैसा बाहिरिनु जस्ता विषयले बजारमा सुधार आउन सकेको छैन । यसका साथै चाडपर्व नजिकिएकाले समेत बजारमा दबाब परेको छ ।’
उनले ब्रोकरको उधारोका कारण समेत बजार घटेको बताए ।
अर्का बजार जानकार निमानन्द कंडेलले लगानीकर्ताको मनोबल खस्किएका कारण बजारमा निरन्तर गिरावट आईरहेको बताए । ‘प्राविधिक रुपमा पनि सपोर्ट लेभलबाट बजार फर्कन नसक्नु भनेको बजार कमजोर बन्दै गरेको र दशैं अघि ठूलो मूभ आउन नसक्नु हो,’उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह ०.३२ र व्यापार समूह ०.०७ प्रतिशतले बढे ।
होटल्स समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.९३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.४९ प्रतिशत,विकास बैंक ०.९२, फाइनान्स ०.५९, हाईड्रो ०.९४, लगानी ०.४९, जीवन बीमा ०.५३, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.७०, निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.२७ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन युनियन हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३३ करोड ८० लाख बढीको सेयर कारोबार भयो । लिबर्टी इनर्जीको पनि आज २७ करोड ३७ लाख, नेपाल पुनर्बीमा कम्पनीको २६ करोड १५ लाख, हिमालयन रि इन्स्योरेन्सको २४ करोड ९४ लाख र पञ्चकन्या माई हाईड्रोको १३ करोड ४४ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । हिम स्टार उर्जा कम्पनीको सेयरमूल्यमा ९.९९ प्रतिशतको वृद्धिका साथ अपर सर्किट लाग्यो ।
यस्तै युनियन हाईड्रोको सेयरमूल्य पनि ७.०३ प्रतिशतले बढ्यो ।
यो दिन लिबर्टी इनजीको सेयरमूल्य सर्वाधिक अर्थात ६.९९ प्रतिशतले घट्यो । यस्तै छ्याङदी हाईड्रोको सेयरमूल्य ६.४५ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको ३.८८ र सिक्लेस हाईड्रोको सेयरमूल्य ३.७६ प्रतिशतले घट्यो ।