काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ११.५२ अंकले घटेर २ हजार ७०८.२५ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४९ प्रतिशतले घटेर ४६७.५१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर ४ अर्ब ४० करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘सबै विषय सकारात्मक हुँदा हुँदैपनि दुई–तीनवटा कारणले पछिल्लो केही समययता बजार झरिरहेको छ । सेबोनले पैसा राखेर मात्रै सेयर कारोबार गर्न मिल्ने गर्न लागेको व्यवस्था, अन्तिम १५ मिनेटको विषय र आईजीनको विवादले बजार चलायमान हुन सकिरहेको छैन । कारोबारी हाबी भएको बजार साना लगानीकर्ताले स्टपलस गरेको र चाडपर्व नजिकिएकाले समेत बजार घट्न पुगेको हो ।’
अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले पनि लगानीकर्ताको मनोविज्ञान कमजोर भएका कारण ठूलो परिणामा पैसा नभित्रिएको बताए । यसैगरी बाफिया र आईजीनको विषयले पनि बजार थप घट्न पुगेको उनको ठम्याई छ ।
‘लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरणमाथि विश्वास नगरेका कारण समेत बजारले गति लिन सकेको छैन । तर मध्यकाल र दीर्घकालका लागि भने राम्रा कम्पनीमा लगानी गर्नु उपयुक्त देखिन्छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो। फाइनान्स समूह आज ०.३२, उत्पादन तथा प्रशोधन ०.१२ र म्युचुअल फण्ड समूह ०.४५ प्रतिशतले बढ्यो ।
बैंकिङ समूह आज सर्वाधिक अर्थात ०.६९ प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह ०.१७ प्रतिशत, होटल ०.६५, हाईड्रोपावर ०.६७, लगानी ०.५८, जीवन बीमा ०.२०, लघुवित्त ०.१७,निर्जीवन बीमा ०.१५, अन्य ०.३१ र व्यापार समूह ०.२४ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन युनियन हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २९ करोड ९९ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज २७ करोड ४६ लाख, एभरेष्ट बैंकको २२ करोड १५ लाख, हिमालयन डिष्ट्रलरीको १६ करोड ५ लाख र युनिभर्सल पावरको १३ करोड १ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । हिमस्टार उर्जाको सेयरमूल्यमा आज ९.९७ प्रतिशतको वृद्धिका साथ अपर सर्किट लाग्यो ।
यस्तै युनिभर्सल पावरको सेयरमूल्य ५.१२ प्रतिशत, युनियन हाईड्रोको ३.९१ र समृद्धि फाइनान्सको सेयरमूल्य ३.५१ प्रतिशतले बढ्यो ।
पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.६२ प्रतिशतले घट्यो । विकास हाईड्रोको सेयरमूल्य पनि आज ३.९२ प्रतिशत र ओरियण्टल होटल्सको सेयरमूल्य ३.७० प्रतिशतले घट्यो ।