काठमाण्डौ । खानीखोला हाइड्रोपावरको हकप्रद सेयरको खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले गत भदौ ३ गतेदेखि हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गरेको छ ।
यो हकप्रदमा भदौ २३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समय भदौ ३१ गतेसम्मका लागि लम्बाइएको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत असार २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यपिटलका साथै रिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगञ्ज,सुर्खेत, नरायणगढ,धनगढी, पोखरा(न्यूरोड),बुटवल ,हेटौडाशाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यस्तै कुमारी बैंकको बाग्मति शाखा(ललितपुर) र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत असार १० गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।