काठमाण्डौ । दशैंको विदा सुरु हुनुअघिको बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।
आइतबार नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ को विन्दूमा पुगेको हो ।
परिसूचकमा दोहोरो अंकको बढोत्तरी भए पनि कारोबार रकम भने खुम्चिएर २ अर्ब ९३ करोडमा सीमित बन्न पुगेको छ ।
दशैं मनाउन धेरै लगानीकर्ता आफ्नो थाँतथलो गएका कारण बजारमा सहभागिता कम भई कारोबार रकम खुम्चिएको देखिएको हो । परिसूचक दोहोरो अंकले बढ्नुले अन्तरिम सरकारले पछिल्लो समय पूँजीबजार सुधारका लागि गरेका प्रयासहरुका कारण लगानीकर्ताको मनोबलमा सुधार हुँदै गएको देखाउँछ ।
बजारका जानकारहरु समेत दशैंअगाडिको अन्तिम दिनको कारोबार भएकोले टर्नओभर उल्लेख्य हुन नसकेको दाबी गर्छन् । जानकार टेकेन्द्र थपलियाको भनाईमा दशैंपछि खुल्ने बजारले राम्रो गति लिनसक्छ । 'किनभने पूँजीबजार सुधार कार्यदलले लगानीकर्ताको माग सम्बोधन गर्दै सोहीअनुसारका विषय कार्यान्वयन गर्न भन्दै सरकारलाई प्रतिवेदन बुझाएको छ ।' थपलियाले भने -'दशैंलगत्तै सुझावमा समेटिएका विषयहरुको कार्यान्वयन गर्दै सरकार बढ्नुको अर्को विकल्प छैन । यसले लगानीकर्ताको सुधारिएको मनोबललाई थप मजबुत पार्नेछ ।'
नेपाल राष्ट्रबैंकसँग सम्बन्धित बजारका केही महत्वपूर्ण विषय समेत क्रमशः सम्बोधन हुँदै जाने आशा बढेकोले लगानीकर्ताको मनोबल सुधार भएको उनको तर्क छ । लगानीकर्ताको सुधारिएको मनोबल र सरकारको बजार सुधारको एकपछि अर्को प्रयासका कारण दशैंपछिको बजारमा सुधारको राम्रै संकेत देखिने उनको अनुमान छ ।
के-के भयो आजको बजारमा ?
आज बजारमा ३१४ कम्पनीका ७५ लाख ११ हजार १९३ कित्ता सेयर २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० रुपैयाँमा किनबेच भयो ।
होटल र टुरिजम, अन्य र व्यापारबाहेक सबै समूहको सूचक बढ्यो ।
बैंकिङ समूह ०.८४ प्रतिशत, विकास बैंक समूह ०.४९ प्रतिशत, बित्त समूह ०.१० प्रतिशत, जलविद्युत समूह ०.७० प्रतिशत, लगानी समूह ०.१४ प्रतिशत, जीवन बीमा समूह ०.८० प्रतिशत, निर्जीवन बीमा समूह ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशत, लघुवित्त समूह ०.५९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९६ प्रतिशतले बढे ।
होटल र टुरिजम समूह ०.१५ प्रतिशत, अन्य समूह ०.१४ प्रतिशत र व्यापार समूह १.२८ प्रतिशतले घट्न पुगे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन युनियन हाइड्रोपावरले सबैभन्दा बढी २४ करोड ११ लाख बढीको कारोबार गर्यो ।
नेपाल पुनर्बीमा कम्पनीको ११ करोड बढी कारोबार भएको बजारमा शिवम सिमेन्टको ८ करोड १८ लाख बढीको कारोबार भयो ।
एनएमबी बैंकको ८ करोड १३ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा हिमालयन रिइन्स्योरेन्सको ७ करोड ७८ लाख बढीको सेयर कारोबार भयो ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो ग्लोबल आईएमई समुन्नत योजना २ नामको म्युचुअल फण्डको इकाई मूल्यमा पोजिटिभ सर्किट लाग्यो । योसँगै यो फण्डको प्रतिइकाई बजार मूल्य ९.७९ रुपैयाँको उचाईमा पुगेको छ ।
भगवती हाइड्रोपावरको सेयरमूल्य करिब ८ प्रतिशतले बढेर प्रतिकित्ता ९४१ हाराहारीमा पुगेको छ भने युनियन हाइड्रोपावर र नाडेप लघुवित्तको मूल्य पनि ५ प्रतिशतभन्दा बढीले नै वृद्धि हुन पुग्यो ।
दशैंको विदाहुनुअघिको बजारमा सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटी नेगेटिभ सर्किट लाग्यो । नवील ब्यालेन्स्ड फण्ड २ नामक म्युचुअल फण्डको इकाई मूल्य ५.६० प्रतिशतले घट्यो भने कालिका पावरको मूल्य ५.२० प्रतिशतले ओरालो लाग्यो ।