मंगलवार, आश्विन १४,२०८२ 06:52:01
IME remit
  • मंगलवार, आश्विन १४,२०८२ 06:52:01
IME remit
Global IME Bank Limited

दशैंमा घुम्ने योजना छ ? यी १२ गन्तव्यको यात्रा बनसक्छ बेजोड रोमाञ्चक

Hyundai Nepal
दशैंमा घुम्ने योजना छ ? यी १२ गन्तव्यको यात्रा बनसक्छ बेजोड रोमाञ्चक
Shivam Cement

काठमाण्डौ । नेपालीहरुको महानपर्व दशैंको अवसरमा परिवारजन र साथीभाईसँग बसेर मीठो मीठो खाने र रमाइलो गर्नेसँगै घुमफिर गर्ने चलन पनि बढ्दो छ ।  

अन्य दिनभन्दा दशैं पर्वमा सबै क्षेत्रका कर्मचारी, विद्यार्थी लगायत सबैका लागि अलिक बढी विदा मिल्ने हुँदा विशेष गरी यो पर्वमा घुमफिर पनि बढी हुने गरेको देखिन्छ ।  

दशैंको एकदिन टिका लगाई आफन्त साथीभाईसँग समय बिताउन सकिनेछ भने अन्य दिन केही रमणीय स्थलहरु अवलोकन वा घुमफिर गर्न सकिनेछ ।  

दशैंको विदामा आफ्ना परिवार, आफन्त र साथीभाईसँग घुम्न सकिने नेपालमा त्यस्ता थुप्रै स्थानहरु छन, जसमध्ये केही गन्तव्य यहाँ प्रस्तुत गरिएको छः

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

१. पोखरा  

घुम्ने भन्नेबित्तिकै सबैको सोचाईमा आउने ठाउँ हो पोखरा । प्राकृतिक सौन्दयर्ताले भरिपूर्ण पोखरामा घुम्न लायकका स्थलहरु थुप्रै छन् । यो सबैखाले पर्यटकका लागि सहज र आकर्षक गन्तब्य हो । यो ठाउँलाई एउटा घुमघामको पूर्ण प्याकेज मान्न सकिन्छ ।

सफा र शान्त वातावरण पोखराको विशेषता हो । यति ठूलो शहरबाट आँखै अगाडि टलक्क टल्केका हिमाल र हिमालको आकर्षक चित्र देखिने फेवाताल रहेको सायद अरु गन्तब्य छैन । एकदिनको छोटो हाइकिङ रुटले यो गन्तब्यलाई अझ बढी आकर्षक बनाएको छ ।  

तपाई सारङकोट जानुस् या धम्पुस, घान्द्रुक, शान्ति–स्तुपा, जहाँ पुगे पनि एकदिनमा पुनः होटेलमै फर्कन सकिन्छ । पोखरामा पुगेर केवल खाने र बस्ने मात्र होइन, तपाईले प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ अनेक रोमाञ्चक गतिविधिमा भाग लिन सक्नुहुन्छ ।

२.मुक्तिनाथ

प्रकृतिसँगै रमाउँदै घुम्ने र धार्मिक आस्था पनि राख्नेहरुका लागि भने मुक्तिनाथ उत्कृष्ट गन्तव्य हुनसक्छ । यो मन्दिर मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकामा समुद्री सतहबाट लगभग ३,७१० मिटर (१२,१७२ फिट) को उचाइमा अवस्थित छ। दशैंको समयमा मुक्तिनाथमा स्नान गर्नु धार्मिक दृष्टिकोणबाट पनि निकै महत्वपूर्ण मानिन्छ । यो हिमाल खुल्ने समय हो ।

हिमालबाट शहरतर्फ झारिएका भेँडाबोकाको लस्कर देख्न मौका मिल्नुसँगै कागवेनीमा तिब्बती सभ्यता समेत देख्न पाइनेछ । साथै मुक्तिनाथमा थकालीहरुको मौलिक पहिचान र खानाको स्वाद समेत लिन सकिनेछ ।  

साथै यो स्थानलाई मोक्ष प्राप्तिको प्रतिक स्थान पनि मान्न सकिन्छ । १०८ धारा (तीर्थ कुन्ड) पनि यहि क्षेत्रमा रहेको छ, जसमा तीर्थालुहरुले स्नान गरेर शरीर, मन र आत्मालाई पवित्र बनाउन सकिने विश्वास रहेको छ ।  

त्यस्तै, शालिग्राम शिला, अनवरत ग्यास ज्वाला, प्राकृतिक सुन्दरता हिमाल पनि हामीले यो क्षेत्रको भ्रमणमा देख्न सक्छौं ।  

३.इलाम-ताप्लेजुङ  

पूर्वी नेपालको धरान-धनकुटा-भेँडेटार हुँदै ताप्लेजुङसम्मको यात्राको योजना बनाउन सक्नुहुन्छ । ताप्लेजुङमा कहाँसम्म पुग्ने, त्यो तपाईसँग उपलब्ध समयमा भर पर्छ । ओलाङचुङ्गोलादेखि पाथिभरा जहाँ पुगे पनि यो यात्राले निकै रोमाञ्चकता दिनेछ ।

धरान–धनकुटामा किराँत–राई समुदायको घरमा दशैंको टीकासम्म बिताउनुहोस् । उनीहरु सेतो अक्षताको टीका लगाएर दशैं मनाउँछन् । केही फरक अनुभव तपाईले पाउनु हुनेछ । त्यसपछि इलाम हुँदै ताप्लेजुङसम्म जान सक्नुहुन्छ ।

यो रुट फोटोग्राफीका लागि पनि उत्तिकै आकर्षक छ । अब ढकमक्क फूल्ने सयपत्रीले बारीका डिल ढाक्न थालिसकेका छन् । पृष्ठभूमिमा कञ्चनजंघा र कूम्भकर्ण हिमाल देखिनेछ । धार्मिक दृष्टिकोणबाट पाथिभरा माताको दर्शन पनि निकै फलदायी हुनेछ । पूर्वी नेपालको चीनसँग जोडिएको ओलाङचुङगोलासम्मको यात्रा त अविश्मरणीय नै बन्नेछ ।

४. ढोरपाटन  

नेपालको बागलुङ, रुकुम र रोल्पा जिल्लामा फैलिएको एक प्रसिद्ध स्थान हो ढोरपाटन । विशेषगरी भदौ देखि कात्तिकसम्म यो क्षेत्र घुम्नको लागि निकै उचित मानिन्छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ढोरपाटनलाई सिकार आरक्ष पनि मानिन्छ 

समुद्री सतहबाट करिब २ हजार ८५० मिटरदेखि ५ हजार ५०० मिटरको उचाईमा फैलिएको यो क्षेत्रमा प्रकृतिसँगै रमाउँदै सिकार योग्य प्रजाती घोरल, भालु, चित्तल, हरिण र अन्य वन्यजन्तुहरुको सिकार गर्न सकिनेछ ।  

यस क्षेत्रमा १३७ भन्दा बढी चराका प्रजातिहरु, रेड पांडा, लालीगुराँस र विभिन्न औषधीय वनस्पति समेत पाइन्छ । ढोरपाटनमा ट्रेकिङ, क्याम्पिङ, र फोटोग्राफीको राम्रो अवसर छ। यहाँ पुग्न सडकको माध्यमबाट बागलुङ वा रुकुम हुँदै जान सकिन्छ, यद्यपि यात्रा अलिक दुर्गम हुन्छ।

तपाईहरुसँग समय रहेको खण्डमा बागलुङदेखि ढोरपाटन ट्रेक हुँदै रुकुमबाट ढोरपाटन हुँदै डोलेपो ट्रेक समेत जान सक्नुहुनेछ।  

५.चितवन सौराहा

नेपालको एक अत्यन्तै चर्चित पर्यटकीय गन्तव्य हो चितवन सौराहा । विशेषगरी चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रुपमा यो ठाउँलाई चिनिन्छ । यो ठाउँ प्रकृति, वन्यजन्तु र थारु संस्कृतिको संगम भएको सुन्दर ठाउँ हो ।  

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी किनारमा र राप्ती नदीको किनारमा अवस्थित यो ठाउँ काठमाण्डौंबाट करिब ५÷६ घण्टामै पुग्न सकिनेछ । एकसिंगे गैंडा, बाघ, हात्ती, चितुवना, बँदेल, मृग र नदी किनारमा देखिने गोही र ५०० भन्दा बढी प्रजातीका चराहरु यस क्षेत्रमा देख्न सकिनेछ ।  

जंगल सफारीसँगै डुङ्गा यात्रा, थारु संस्कृतिको झाँकी, जीवनशैली प्रत्यक्ष अवलोकन गर्न सकिनेछ ।  

६.पाँचपोखरी ट्रेक  

पछिल्लो समय पाँचपोखरी ट्रेक पनि पर्यटकीय गन्तव्य बन्न पुगेको छ । केही वर्षयता निकै चर्चामा आएको यो ट्रेकमा निकै रमणीय प्रकृति देख्न सकिनेछ ।  

पाँचपोखरी नेपालका विभिन्न स्थानमा पाइने धार्मिक तथा प्राकृतिक महत्व भएका पवित्र पाँच वटा पोखरीहरूको समूहलाई जनाउने नाम हो । नेपालमा धेरै ठाउँमा ‘पाँचपोखरी’ नामका स्थलहरू छन्, तर सबैभन्दा चर्चित पाँचपोखरी सिन्धुपाल्चोक जिल्लामा रहेको पाँचपोखरी विशेष चर्चामा छ ।  

काठमाण्डौबाट करिब ११८ किलोमिटर दूरीमा र समुद्री सतहबाट करिब ४ हजार १०० मिटरको उचाइमा रहेको यो स्थल धार्मिक र सांस्कृतिक रुपमा पनि महत्व बोकेको गन्तव्य हो । यो क्षेत्रमा भगवान शिवको मन्दिर पनि रहेको छ, विशेषगरी जनैपूर्णिमाको दिन हजारौं भक्तजनहरु यहाँ दर्शन गर्न पुग्छन् ।  

पाँचवटा सुन्दर हिमाली पोखरीहरुको समूह, वरिपरी दृश्य, जंगल र हरियालीले भरिएको यो क्षेत्रमा मौसम सफा हुँदा गौरीशंकर, लाङटाङ, गणेश हिमाल जस्ता हिमश्रृंखला देख्न सकिनेछ । 

७. देवचुली डाँडा  

देवचुली डाँडा नेपालको गण्डकी प्रदेशमा पर्ने नवलपुर (पूर्वी नवलपरासी) जिल्लामा अवस्थित एक प्राकृतिक, धार्मिक, र पर्यटकीय महत्त्वको डाँडा (पहाड) हो । यो स्थान धार्मिक तीर्थयात्रा, पदयात्रा (हाइकिङ/ट्रेकिङ), प्रकृति अवलोकन, र स्थानीय संस्कृति अनुभव गर्न अत्यन्त उपयुक्त छ।

देवचुली डाँडा हिन्दु धर्मावम्बीहरुको लागि एक पवित्र तीर्थस्थल पनि हो । यहाँ देवस्थान मन्दिर अवस्थित छ । विशेष गरेर साउन महिनामा, तीज, शिवरात्री र अन्य धार्मिक पर्वहरुमा हजारौं भक्तजन डाँडाको शिखरमा पुगेर पुजाआजा गर्ने गर्छन् ।  

साथै दशैंको समयमा मौसम सफा हुने भएकाले उत्तरतर्फ हिमश्रृंखलाहरुः अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी जस्ता हिमालहरु देखिन्छ भने दक्षिणतर्फ नारायणी नदी, समतल भू–भाग, पूर्व–पश्चिम राजमार्गका बस्ती, चितवन राष्ट्रिय निकुञ्ज देखिदेछ ।  

यात्रामा थोरै घाटीमार्ग, जंगलको हरियाली, चराचुरुङ्गीहरूको आवाज आदि अनुभव गरिन्छ। भ्यूटावर, गुफा, गोलपोखरी, शान्ति उद्यानजस्ता संरचनाहरू छन् । विश्रामस्थल, खानेपानी, बाटो चिह्न, मार्गको संरचना आदि अझ व्यवस्थित हुन बाँकी छन् । आवास सुविधा (होमस्टे/साना होटल) केही ठाउँमा भए पनि पर्याप्त छैन। नवलपुरको दलदलेमार्फत तपाईहरु यो स्थान सहजै जान सक्नुहुने छ ।  

८. सिमिकोट

नेपालको सुदूर, हिमाली क्षेत्रहरुमध्ये पर्ने हुम्ला जिल्लाको प्रशासनिक केन्द्र हो सिमिकोट । समुद्र सतहबाट करिब २ हजार ९१० मिटरको उचाईमा रहेको यस क्षेत्रमा वनस्पति, जनजाति, संस्कृति र प्राकृतिक सौन्दर्यताले धनी छ ।  

धार्मिक क्षेत्रले महत्वपूर्ण यो क्षेत्र तीर्थयात्रु तथा यात्राको ‘गेटवे’ मानिन्छ । विशेषगरी मन्सरोवर/माउन्ट कैलाश यात्रा गर्न चाहानेहरुका लागि यो क्षेत्र उपयुक्त मान्न सकिन्छ । प्राकृतिक सौन्दर्य र ट्रेकिङ विविधताले पनि यो क्षेत्र उचित मानिन्छ ।  

यस क्षेत्रमा हिमाली दृश्यहरु, उचाइमा रहरयोग्य गिर्दो बस्तीहरु, चराचुरुङ्गी र वनस्पती विविधता छन् । लिमि भ्याली ट्रेक र सिमिकोट र रारा लेक ट्रेकले पनि यो क्षेत्र लोकप्रिय मानिन्छ ।  

९. रारा ताल  

नेपालको सबैभन्दा ठूलो र अत्यन्त सुन्दर हिमाली ताल हो रारा ताल । यो ताल आफ्नो गहिरो नीलो पानी, चारैतिर फैलिएको हरियाली जंगल, हिमालहरूको दृश्य, शान्त वातावरण र अनछुए पर्यटन अनुभवका लागि प्रसिद्ध छ।

समुन्द्री सतहबाट २ हजार ९९० मिटरको उचाइमा रहेको यो तालको गहिराई १६७ मिटर र क्षेत्रफल १०.८ वर्ग किमी रहेको छ । मुगु जिल्ला, कर्णाली प्रदेशमा अवस्थित यो क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । गहिरो निलो पानीमा हिमालहरुको छाया पर्ने अत्यन्तै मनमोहक दृश्य, चारैतिर हरियाली जंगल र तालमा डुङ्गा चलाउन पाइने कुराले पर्यटनको लागि यो क्षेत्र विशेष मानिन्छ ।  

साथै यो क्षेत्र जैविक विविधताले पनि भरिपूर्ण छ । रारा राष्ट्रिय निकुञ्ज अन्तर्गत संरक्षित क्षेत्र, वन्यजन्तु र पशुपन्छीहरु पनि धेरै थरिका देख्न सकिनेछ । नेपालगञ्जदेखि जुम्लाहुँदै रारा ट्रेक गर्न सकिने यो क्षेत्रमा दशैंको समयमा घुम्न उपयुक्त मानिन्छ ।  

१०. लुम्बिनी

लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल यो ठाउँ नेपालको रूपन्देही जिल्लामा पर्छ। विभिन्न बौद्ध वाङ्मयहरूमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नाउँको एउटा उपवनलाई चिनाइएको छ। इ.पू. २४९ मा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएका थिए ।सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा मौर्य सम्राट अशोकद्वारा राखिएको अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख भेटियो ।  

उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनि भनेर उल्लेख गरिएको पाइन्छ । यस अभिलेखको प्राप्त भएपछिे गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो । लुम्बिनी अञ्चल बुद्ध कै जन्मस्थलको नाम बाट नामाकरण गरिएको हो। लुम्बिनी बौद्ध धर्मालम्बीहरूको विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएको कारण युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको छ।

११. खप्तड राष्ट्रिय निकुञ्ज

खप्तड राष्ट्रिय निकुञ्ज सुदुरपश्चिम प्रदेशका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ।  २२५ बर्ग कि.मी.को यो निकुञ्ज बि.स २०४२ मा स्थापना गरिएको हो । समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड ताल ।  

सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो। खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्। खप्तड बाबाको कुटी त्रिवेणी नदी खापर दह शिव मन्दिर सहस्रिलंग गणेश मन्दिर नागढुंगा केदारढुंगाजस्ता धार्मिक स्थल निकै प्रख्यात छन्। सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन् ।

१२. सैलुङ

सैलुङ रामेछाप र दोलखाको सिमानामा अवस्थित छ । यो नेपालको पूर्वतिरको पहाडी भू-भाग हो । सैलुङको अर्थ सय लुङ (लुङ भनेको पहाडका टाकुरा) हो । सैलुङमा समुद्री सतहदेखी ३ हजार १ सय ४५ मिटर उचाईका १०८ वटाभन्दा धेरै थुम्काहरु छन् ।

हिन्दुहरु सैलुङ क्षेत्रलाई भगवान शिवको तपोभूमिको रुपमा लिन्छन् भने बौद्धधर्मालम्बीहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् । मनास्लु, जुगल, लाङटाङ हिमाल प्रष्ट देखिने सैलुङबाट गौरिशंकर, नुम्बुर हिमाल र मकालु हिमाल पनि देख्न सकिन्छ । दोलखा जिल्लामा पर्ने कालिञ्चोक, चेरलुङ, रामेछापको तामेडाँडा, सालुखुम्बुको पिके र ओखलढुङ्गाको थोलेदेम्बा लगायतका उच्च पर्वतहरु सैलुङ डाँडाबाट मज्जाले देख्न पाईन्छ । दक्षिणमा महाभारत पर्वत श्रृङ्खला, चुरे पर्वत श्रृङ्खला पनि देखिन्छ ।  

सैलुङको आलु निकै प्रख्यात छ । द्धन्द्ध पर्यटनको राजधानीकै रुपमा विकास हुँदै गरेको दोरम्बा पनि सैलुङमै पर्छ । त्यसैले पनि यो गन्तव्य मानिसहरुका लागि दशैँमा घुमफिरको महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.