काठमाण्डौ । सेयर बजारमा रौनक आउन नसके पनि डिम्याट खाता खोल्नेको संख्या भने दिनहुँ बढिरहेको छ । हाल धितोपत्र बोर्डले एक भन्दा बढी लगानीकर्ताहरुलाई २ भन्दा बढी खाता खोल्न सहज गर्दै आएको छ । धितोपत्र बजार सुधार कार्यदलले पनि माल्टिपल डिम्याट खाताको बिषयमा लगानीकर्ताहरुलाई सहज गर्नु पर्ने विषयमा जोड दिएको छ ।
पछिल्लो समय सेयर बजार ३ हजारबाट झरे पछि खासै उत्साहजनक ढंगले बढ्न सकेको छैन । सरकारको अस्थिर नीति तथा सत्ता परिवर्तनको खेलले बढेको अन्यौलको छायाँ बजारमा समेत देखिरहेको छ । तर, डिम्याट खाता खोलेर बजारमा प्रवेश गर्नेको संख्या भने दिनहुँ बढिरहेको देखिएको हो ।
सीडीएससीको तथ्याँक अनुसार डिम्याट खाता खोल्नेको संख्या ७१ लाख १५ हजार ४२ जना पुगेको छन् । यो भनेको नेपालको हालको जनसंख्याको २४ प्रतिशत हो ।
त्यसैगरी, मेरो सेयर प्रयोगकर्ताको संख्या पनि बढेर ६१ लाख ९२ हजार ४४० जना पुगेको छन । जसमा एक्टिभ मेरो सेयर प्रयोगकर्ताको संख्या भने ४३ लाख ८८ हजार २५९ जना पुगेको छ ।
यो सँगै करिब १५ अर्ब कित्ता सेयर डिम्याट भएको पनि सीडीएसीले जनाएको छ । हाल १२२ वटा डीपी रहेका छन् ।
हाल सेन्ट्रल केवासीलिने संस्थाको संख्या १२३ संस्था पुगेका छन् ।