काठमाण्डौ । लामो समयदेखि आइजिनको विषय धितोपत्र बोर्डमा अड्किएको छ । करिब ६ महिना पहिलेदेखि सीडीएससीले धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका २०८२ पारित गरेर बोर्डमा पठाएको थियो ।
यसै विषयमा पूँजीबजार सुधार कार्यदलले पनि सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट प्रदान गरिने इन्टरनेशनल सेक्युरिटज आइडेन्टिफिकेशन(आईजिन) नम्बर सम्बन्धमा एकरूपता कायम गर्न निश्चित मापदण्ड तय गरी लागू गर्ने सुझाव दिएको थियो ।
कार्यदलले पूँजीबजार सुधारको लागि केही काम नेपाल राष्टबैंक तथा केही काम धितोपत्र बोर्डलले गर्ने गरि सुझाव दिएको थियो । धितोपत्र बोर्डले भने कर्मचारीहरुको आन्दोलनले कामकाज ठप्प भएका कारण कुनै पनि बुँदालाई कार्यान्वयन गर्न सकेको छैन । उसले सुधार कार्यदलले दिएका सुझाव कार्यान्वयनका लागि कार्ययोजना त बनाएको छ, तर कार्यान्वयनका लागि कार्यालय नै ठप्प हुँदा सबै योजना प्रभावित बनेको देखिएको छ ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले संस्थापक र सर्वसाधारण सेयरधनीका लागि छुट्टाछुट्टै आइजिन नम्बरको व्यवस्था गर्न धितोपत्र बोर्डबाट आलटाल भएको दाबी गरे । पाण्डेले भने ‘यसले ‘लकिङ पिरियड’ नसकिँदै प्रणालीको दुरुपयोग गरी संस्थापक सेयर बिक्री गर्ने प्रवृत्तिलाई रोक्नेछ। यस्तो गलत कार्यमा संलग्नहरूलाई छानबिन गरी तत्काल कारबाहीको दायरामा ल्याइयोस्।’
सर्वसाधारण सेयर लगानीकर्ताहरु २ वटा आइजिन हुनु पर्ने पक्षमा रहेका छन् । सर्वसाधारण लगनीकर्ताहरुले लक इन पिरियड खुल्नुअघि नै केहीले संस्थापक सेयर बेच्ने गरेको आरोप लगाउने गरेका छन् ।
सीडीएससीले पठाएको २ वटा आइजिनको उपयुक्त भएकाले यसलाई बोर्डले पास गर्नु पर्ने लगानीकर्ताहरुको तर्क रहेको छ ।
बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पनि आईजीन लगायत सुधार कार्यादलले दिएका सुझाव कार्यान्वयनमा कुनै समस्या नरहेको बताए । तर दैनिक कामकाज ठप्प पारेर कर्मचारी आन्दोलनमा उत्रिएका कारण बनिसकेको कार्यान्वयन कार्ययोजना समेत अलपत्र परेको उनको भनाई छ ।
के छ सीडीएससीको निर्देशिकामा ?
सीडीएससीले तयार पारेको धितोपत्र आभौतिकरण निर्देशिका २०८२ मा अब सर्वसाधारणमा जाने सबै कम्पनीेहरुले लकइन अवधिभर २ वटा आइजिन अनिवार्य गरेको छ । तर लकइन अवधि सकिएपछि कम्पनीहरुले साधारणसभाको बैठक बसी धितोपत्र बोर्डको स्वीकृति लिएर एउटै आइजिन बनाउन सक्नेछन ।
जसको लागि सर्वसाधरणहरुलाई जानकारी दिन २ पटक सार्वजनिक सूचना जारी गर्नुपर्ने पनि निर्देशिकमा उल्लेख छ ।
त्यसैगरि, उक्त निर्देशिकाको दफा ७ को उपदफा २ मा भनिएको छ, ‘यस निर्देशिकामा लागू हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रमा एउटै आइजिन दिई लकइन अवधि समाप्त नखुलेको धितोपत्रको समेत यस निर्देशिका लागू भए पश्चात फरक–फरक आइजिन हुनेछ ।’
हाल एउटै आइजिन भएका तर लकइन अवधि नसकिएका कम्पनीहरुलाई समेत यस निर्देशिकाले छुनेछ ।