काठमाण्डौ । अमेरिकाले रुसका दुई ठूला तेल कम्पनी रोजनेफ्ट र लुकोइलमाथि प्रतिबन्ध लगाएको छ । जसप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पहिलो बयान आएको छ ।
डोनाल्ड ट्रम्पको निर्णयलाई मस्कोमाथि दबाब दिने प्रयास भएको भन्दै रुसी राष्ट्रपतिले रुसले बाह्य मागमा नझुक्ने वाचा गरेका छन् । भ्लादिमिर पुटिनले भने,‘कुनै पनि स्वाभिमानी देशले दबाबमा केही गर्दैन।’
रुसी तेल कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि रुसको नजर अब भारतमाथि छ । अब रुसी तेल किन्न भारतका लागि सहज हुनेवाला छैन । भारतीय तेल कम्पनीहरूले रुसका यी दुई तेल कम्पनीहरूबाट बढी तेल खरिद गर्छन्, जबकि अमेरिकी राष्ट्रपतिले प्रतिबन्ध लगाउनुको उद्देश्य रुसलाई तेल बिक्रीबाट हुने राजस्व रोक्नु रहेको बताएका छन् ।
ह्वाइट हाउसले चीनपछि भारतले पनि रुसी तेल खरिद घटाएको दाबी गरेको छ । अमेरिकी प्रतिबन्धबाट बच्न भारतले रुसी तेलको खरिद क्रमशः घटाउन सक्ने रिपोर्टहरू सार्वजनिक भएका छन्।
भ्लादिमिर पुटिनले आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो प्रतिबन्धले विश्व ऊर्जा बजार अस्थिर हुनसक्ने र संयुक्त राज्य अमेरिका लगायतमा मूल्यहरू बढ्न सक्ने चेतावनी दिएको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने, ‘हामीले स्पष्ट रूपमा भनेका छौं कि यसले अमेरिका लगायत विश्वमा तेलको मूल्यलाई असर गर्नेछ।’
ह्वाइट हाउसमा आएको २४ घण्टाभित्र युद्ध अन्त्य गर्ने घोषणा गरेकाले युक्रेन युद्धमा अझै पनि शान्ति सम्झौता हुन नसकेपछि डोनाल्ड ट्रम्प बेचैन भएको मानिन्छ । तर युद्ध अझै जारी छ। युद्ध अन्त्यका लागि उनले हालै रुसी राष्ट्रपति पुटिनसँग अलास्कामा भेटवार्ता पनि गरेका थिए, जसमा कुनै परिणाम आएन ।
अमेरिका र युरोपेली सहयोगीहरूले बारम्बार रुसलाई युद्धविरामको लागि आग्रह गरेका छन् र यी देशहरूले रुसमाथि धेरै कडा प्रतिबन्धहरू लगाएका छन्।
जबकि, भ्लादिमिर पुटिनले पश्चिमले किभलाई प्रतिबन्ध र हतियार सहयोग मार्फत रूसको सार्वभौमसत्तालाई अपमानित गरेको आरोप लगाएका छन्।
अर्कोतर्फ, अमेरिकी ट्रेजरी डिपार्टमेन्टले यी प्रतिबन्धहरू रुसको आक्रामक वित्तिय क्षमतालाई सीमित गर्ने प्रयासको एक हिस्सा भएको बताएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।