काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.१७ अंकले घटेर २ हजार ५६६.१६ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४४७.४१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड १५ लाख १ हजार २८४ कित्ता सेयर ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘आज बजार सामान्य अंकले घट्नुको मुख्य कारण भनेको बजारमा ट्रेडर हाबी हुनु हो । अल्पकालीन लगानीकर्ता धेरै भएकाले होल्ड गर्न नसक्ने र छोटो समयमा नै थोरै नाफा खाएर बेच्ने प्रवृत्तिले बजारको स्थायित्वमा असर पारेको छ । ब्रोकरको प्रेसरले एउटा स्टकमा ५ रुपैयाँ नाफा भएपनि बेचेर उम्किहाल्ने प्रवृत्ति धेरैमा छ । सबै कुरा सकारात्मक हुँदाबा वाबजुत पनि बजार सस्टेन हुन सकिरहेको छैन । तर केही दिनपछि बजार रिभर्सल भएर अवश्य फर्किने सम्भावना छ ।’
त्यस्तै, बजार जानकार अजय सिं थापा (जय शम्भु)भन्छन्, ‘समग्रमा भन्नुपर्दा अहिलेको मार्केट करेक्टिभ वेतर्फ छ । अहिलेको बजार बुलिस सेगमेन्टमा छैन । बजारलाई लगानीकर्ताको मनोवैज्ञानिक पक्षले प्रभाव पारिरहेको छ । राजीतिक विषयलगायत विभिन्न कुराले लगानीकर्तामा आत्मविश्वास बढ्न सकिरहेको छैन । तर बजार माथि जाने सम्भावना भने देखिन्छ । बजार २५ सयबाट बढेर २७५० वा २८ सयको विन्दुमा पुग्ने सम्भावना रहेको छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात २.१५ प्रतिशतले बढ्यो । यस्तै हाईड्रो समूह ०.०१ प्रतिशत, लघुवित्त ०.१३ र व्यापार समूह २ प्रतिशतले बढ्यो ।
अन्य समूह आज सर्वाधिक अर्थात १.२० प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३४ प्रतिशत, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८, म्युचुअल फण्ड ०.०८ र निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन युनियन हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड ६५ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज २३ करोड १९ लाख, बुटवल पावरको २२ करोड ७२ लाख, राधी विद्युतको २२ करोड ३० लाख र हिमालयन रि इन्स्योरेन्सको १८ करोड ३४ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज खानीखोला हाईड्रोपावर, उपकार लघुवित्त र मानुषी लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै हिमालयन पावर पार्टनरको सेयरमूल्य ८.७४ प्रतिशत, आशा लघुवित्तको ७.६८, न्यादी हाईड्रोपावरको ६.३१ र माईखोला हाईड्रोपावरको सेयरमूल्य ५.६० प्रतिशतले बढ्यो ।
पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्यमा आज ३.६९ प्रतिशतको गिरावट आयो । सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य पनि आज ३.२१ प्रतिशत र सुपर माई हाईड्रोको सेयरमूल्य ३.१४ प्रतिशतले घट्यो ।

