काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात २०.५६ अंकले घटेर २ हजार ५४४.५९ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.७४ प्रतिशतले घटेर ४४१.०४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर ३ अर्ब ८४ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अजय सिं थापा (जय शम्भु)भन्छन्, ‘बजारको अवस्था हेर्दा प्राविधिक रुपमा ‘बी’ वेभ सकिएर अहिले ‘सी’ वेभमा चलिरहेको छ । अहिले बजारमा सेकेण्ड वेभको करेक्सन हो । बजार घटेर २४ सयको आसपास हुने टार्गेट देखिएको छ । बाँकी आधारभुत पक्ष हेर्दा सूचीकृत कम्पनीहरुको रिर्पोट राम्रो र अपेक्षित आाएको छैन । राजनीतिक माहोल समेत राम्रो नभएकाले लगानीकर्तामा कन्फिडेन्ट बढेको छैन । केही दिन साइडवेजमै चलेर बजार २४ सय आसपास आउने देखिन्छ ।’
अर्का बजार जानकार नयन बास्तोला भन्छन्, ‘अहिले बजार साइडवेजमै चलिरहेको देखिन्छ । राजनीतिक माहोल राम्रो नभएका कारण बजारले लय लिन सकिरहेको छैन । समग्र पुँजीबजार लगानीकर्ताको सेन्टिमेन्टमा चल्ने भएका कारण लगानीको वातावरण राम्रो नहुँदा आम लगानीकर्ताको मनोबल बढ्न सकिरहेको छैन । यसबाहेक अन्य कुराहरु पोजेटिभ नै छन् । यदि चुनाव भएर राजनीतिक परिवेश पनि राम्रो हुने हो भने बजार अवश्य फर्कन्छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह मात्रै बढ्यो । यो समूह आज ०.२३ प्रतिशतले बढ्यो ।
व्यापार समूह आज सर्वाधिक अर्थात २.३५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.६७ प्रतिशत, विकास बैंक ०.३०, फाइनान्स ०.७९, होटल ०.१८, हाईड्रो ०.७०, लगानी ०.९९, लघुवित्त ०.६९, म्युचुअल फण्ड ०.८६, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.३३ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४० करोड ३४ लाख बढीको कारोबार भयो । राधी विद्युतको पनि आज २२ करोड १४ लाख, साहस उर्जाको १४ करोड १ लाख, युनियन हाईड्रोपावरको १३ करोड ५५ लाख र शिवम् सिमेन्टको ७ करोड ८८ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका चारवटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज भूगोल इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केवलकार र बुङ्गल हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै अपर सोलु हाईड्रो इलेक्ट्रिकको सेयरमूल्य ५.३१ प्रतिशत, नेपाल माईक्रो इन्स्योरेन्सको ३.७५ र स्वस्तिक लघुवित्तको सेयरमूल्य ३.४९ प्रतिशतले बढ्यो ।
यो दिन दरमखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.७२ प्रतिशतले घट्यो । माबिलुङ इनर्जीको सेयरमूल्य पनि आज ८.२१ प्रतिशत र मेरोमाईक्रोफाइनान्सको सेयरमूल्य ४.५७ प्रतिशतले घट्यो ।

