काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कोषले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ४.४३ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कोषको खुद नाफा ३० करोड ९ लाख रुपैयाँ थियो ।
यो अवधिमा कोषले ५३ करोड ७२ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.९० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले ५१ करोड ७० लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।
कोषले आर्जन गरेको कुल आम्दानीमा ९ करोड ७२ लाख ब्याज आम्दानी, ४२ करोड ७४ लाख सेवा शुल्क तथा कमिसन आम्दानी र १ करोड २५ लाख रुपैयाँबराबरको विविध आम्दानी रहेको छ । कोषको कुल खर्च १.९६ प्रतिशतले बढेको को छ । अघिल्लो आवमा ११ करोड ५७ लाख रुपैयाँ रहेको कुल खर्च बढेर ११ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
कोषले २ खर्ब ९५ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब ६२ अर्ब ,नेपाल सरकारको ऋणपत्रमा ३ अर्ब ६३ करोड ,समयकालिन कर्जामा २६ अर्ब ३८ करोड ,संगठित संस्थाको सेयरमा ३२ अर्ब २७ करोड र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ । कोषको बैंक मौज्दात २ अर्ब ८७ करोड र चालु सम्पत्ति ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । कोषको जगेडा कोषको आकार २० अर्ब २४ करोड रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६९.०८ रुपैयाँ र लगानी प्रतिफल ४.८१ प्रतिशत कायम भएको छ ।

