काठमाण्डौ । चालु आवको पहिलो त्रैमासमा छ्याङदी हाइड्रोपावरको वित्तीय अवस्थामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्ृकत वित्तीय विवरणअनुसार कम्पनीले १ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा भने कम्पनी ८७ हजार ९५७ रुपैयाँ घाटामा थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा २९.३८ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ५७ करोड ७० लाख आर्जन गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च २५ लाख ६८ हजार रुपैयाँबाट बढेर ६६ लाख ६४ रुपैयाँ पुगेको छ । यस्तै ह्रासकट्टी खर्च १ करोड २० लाखबाट बढेर १ करोड २६ लाख पुगेको छ । अघिल्लो आवमा २ करोड २७ लाख रहेको वित्त खर्च भने घटेर १ करोड ६ लाखमा सीमित बनेको छ ।
समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ७७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । ९ करोड ७९ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ६ करोड १७ लाख रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ८५.१६ रुपैयाँ र तरलता अनुपात १.५९ प्रतिशत कायम भएको छ ।

