काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ४.९८ अंकले घटेर २ हजार ५६१.०८ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले घटेर ४४२.२६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३८ वटा स्क्रिप्टको ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु)ले हालको करेक्सन फेज २४ सयदेखि ३ हजार विन्दुमा लामो समयसम्म रहन सक्ने बताए । उनले हाल साइडवेज फेजको करेक्सन चलिरहेकाले बजार तत्काल माथि जाने सम्भावना कम रहेको औंल्याए ।
अर्का बजार जानकार यज्ञ घिमिरेले पनि पछिल्लो समय सेयरबजार निरन्तर घटिरहेको र यसले लगानीकर्ताको मनोबल घटेको बताए । उनले सेयरबजारप्रति नकारात्मक धारण राख्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सरकारले पक्राउ गरेकाले अघिल्लो दिन भने बजारमा केही सुधार आएको प्रतिक्रिया दिए ।
‘आजको गिरावलाई खासै घटेको मान्न सकिन्न । राजनीतिक माहौलमा सुधार आउँदै गयो भने बजारपनि बढ्दै जान्छ । लगानीकर्ता अझैपनि लगानी गर्न हच्किरहेका छन्,’ उनले भने । सानोतिनो घटाई स्वभाविक भएको भन्दै उनले राजनितिक अवस्था स्थिर बने बजार ३ हजार विन्दु पार पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार हाल लगानीकर्ता पर्ख र हेरकै अवस्थामा छन् ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूहमा सर्वाधिक बढ्यो। यो समूह आज १.१६ प्रतिशतले बढ्यो।
यस्तै उत्पादन तथा प्रशोधन समूह ०.४२ प्रतिशत, म्युचुअल फण्ड ०.३५ र व्यापार समूह ०.३५ प्रतिशतले बढ्यो ।
विकास बैंक समूह आज सर्वाधिक अर्थात १.०९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१६ प्रतिशत, फाइनान्स ०.६८, हाईड्रो ०.१४, लगानी ०.४४, जीवन बीमा ०.५३, लघुवित्त ०.०८, निर्जीवन बीमा ०.५७ र अन्य समूह ०.४७ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन वरुण हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २७ करोड ४० लाख बढीको कारोबार भयो । साहस उर्जा कम्पनीको पनि आज १९ करोड ६० लाख, राधी विद्युतको १५ करोड ९४ लाख, युनियन हाईड्रोको ११ करोड ४ लाख र सिनर्जी पावरको १० करोड ८७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज माबिलुङ इनर्जी, दरमखोला हाईड्रो, सागर डिस्टिलरी, हिमस्टार उर्जा, बुङ्गल हाईड्रो, सान्भि इनर्जी, बन्दिपुर केवलकार र झापा इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै स्वस्तिक लघुवित्तको सेयरमूल्य ८.१८ प्रतिशत र पियोर इनर्जीको सेयरमूल्य ६.९३ प्रतिशतले बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.०३ प्रतिशतले घट्यो ।

