बुधबार, मंसिर २४,२०८२ 02:34:39
Bizshala
  • बुधबार, मंसिर २४,२०८२ 02:34:39
Bizshala
Global IME Bank Limited
Bizshala

'राष्ट्रबैंक र सीआईबी मिलाइसकेँ' भन्दै कमब्याक, प्रभूमा रश्मीलाई सीईओ बनाउने शेरचन समूहको 'प्लान बी'

गभर्नर समयमै नखुल्दा समस्या, बोर्ड निलम्बन गरी एनसीसी मोडलबाट बैंकलाई उद्दार गर्नुपर्नेमा धेरैको सहमति

Hyundai Nepal
'राष्ट्रबैंक र सीआईबी मिलाइसकेँ' भन्दै कमब्याक, प्रभूमा रश्मीलाई सीईओ बनाउने शेरचन समूहको 'प्लान बी'
Shivam Cement

काठमाण्डौ । सम्भवः भएसम्म अशोक शेरचनलाई नै हिरासतमुक्त गरी प्रभू बैंकको नेतृत्वमा पुनः बहाली गराउने योजनाका साथ अगाडि बढिरहेकाहरुले प्लान बी पनि तयार गरेका खुलेको छ ।  

अशोक शेरचनलाई सपोर्ट गर्ने बैंकका सञ्चालक, प्रमुख प्रमोटर तथा उच्चपदस्थ केही कर्मचारीको समूहले विभिन्न शक्तिकेन्द्रहरुमा यस्तो लविङ गरिरहेको छ ।  

यो क्रममा शेरचनलाई चाँडोभन्दा चाँडो हिरासतमुक्त गर्ने र पहिलाको नजिरका आधारमा सोझै बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्वको पुनः जिम्मा दिने गरी योजनाहरु बनिरहेका स्रोतको भनाई छ ।  

यसका लागि शेरचनलाई समर्थन गर्ने समूहले नेपाल राष्ट्रबैंक, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी), विभिन्न दल निकटका सरकारसँग कनेक्सनमा रहेका नेता, प्रधानमन्त्री कार्यालयको सचिवालयका केही सदस्य, अर्थ मन्त्रालय लगायतमा लविङ गरिरहेका छन् । यो लविङ सफल भएमा आगामी दिनमा शेरचन सीआईबीको हिरासतबाट मुक्त हुनेबित्तिकै प्रभू बैंकको नेतृत्वमा पुनः बहाली हुने सम्भावना देखिएको छ ।  

फौजदारी अभियोगमा हाल सीआईबीको हिरासतमा अनुसन्धानको केन्द्रमा रहेका उनलाई सीईओको रुपमा फर्काउन मिल्ने या नमिल्ने विषयमा केन्द्रीय बैंकको लाइनलाई कुरेर यो समूह बसिरहेको बुझिएको छ । 

CG Motors
Garima Development Bank
IME remit

बैंकका एक सञ्चालकका अनुसार राष्ट्रबैंकको नेतृत्व र विभागीय प्रमुखहरु समेत शेरचनलाई फर्काउने मामलामा सकारात्मक छन् । तर, उनीहरुले कानूनी पाटो समेत हेर्नुपर्छ भनेर अहिले सल्लाहमा रहेको आफूहरुलाई खबर आएको ती सञ्चालकले जानकारी दिए ।  

यो लविङमा हाल बैंकका अध्यक्ष किशोरजंग कार्की, कामू सीईओ निरज लम्साल लगायत सक्रिय रहेका स्रोतको दाबी छ । 

बिजशालासँगका केही औपचारिक र अनौपचारिक छलफलका क्रममा कार्की र लम्सालले नै पहिला मनोज न्यौपानेहरुलाई सीआईबीको हिरासतमुक्त भएलगत्तै बैंकको पुरानै जिम्मेवारीमा ल्याइएको विगत उद्धृत गरे । त्यही मोडलबाट शेरचन पनि हिरासतमुक्त भएलगत्तै बैंक सम्हाल्न आउनसक्ने उनीहरुको संकेत थियो ।  

असफल भए 'प्लान बी'

फौजदारी अभियोगमा हिरासतमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत छुटेलगत्तै अनुसन्धान नसकिने र यो पूरा नभएसम्म पुरानै जिम्मेवारीमा फर्कन नमिल्ने भन्दै बैंकभित्रका कर्मचारीमा असन्तुष्टि बढ्दो देखिएको छ ।  

'जसले बैंकको नेतृत्वमा बसेर बैंकलाई करोडौंको नोक्सानी गरायो, उसलाई नै निर्दोष साबित नहुँदै नेतृत्वमा ल्याइने ब्लण्डर कतैबाट पनि नहोस् भन्ने हाम्रो चाहना हो ।' बैंकका एक कर्मचारीले बिजशालासँग भने-'शेरचनलाई नै फेरि सीईओ बनाइयो भने उहाँबाट विगतमा भएका अरु फट्याईंसँग सम्बन्धित फाइलहरु मिलाउने काम हुन्छ । प्रमाण नष्ट होला । यो जोखिम मोल्न केन्द्रीय बैंक तयार हुनुहुँदैन । यसले बैंकको साख थप गिराउने मात्र नभई ग्राहकहरुमा समेत नकारात्मक म्यासेज जान्छ । बैंक जोगाउने हो भने शेरचनलाई कुनै पनि हालतमा नेतृत्वमा ल्याउनुहुँदैन ।' 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

कर्मचारीबाट समेत विरोधका बग्रेल्ती आवाज उठ्न थालेपछि शेरचन समूहले बैंकको नेतृत्वमा प्लान बी समेत तयार गरेर राखेको बुझिएको छ । प्लान बीमा शेरचनसँग निकट रहेर बैंकमा छायाँ सीईओको भूमिका खेल्दै आएकी र विगतमा थुप्रै फाइलहरु बिगार्ने काम गरेकी रश्मी पन्तलाई अगाडि बढाउने योजना छ ।  

पन्त अहिले प्रमुख व्यवसाय अधिकृत छिन् । बरियतामा पछि रहे पनि उनले अशोक शेरचनको छत्रछायाँमा छायाँ सीईओको रुपमा बैंक चलाउने गर्थिन् । शेरचनले लिने प्रमुख निर्णयहरुमा उनको सल्लाह र साथ हुने गथ्र्यो । यहीकारण शेरचन समूहले 'प्लान बी'अन्तर्गत पन्तलाई सीईओको रुपमा अगाडि बढाउने अर्को योजना बनेर बसेको देखिएको छ ।  

पन्त समेत सीईओ/डिसीईओ पक्राउ परेको नवौं दिन सोमबारदेखि ‘सबैलाई मिलाइसकेँ’ भन्दै कार्यालय आउन थालेकी छिन् । सीआईबीको निगरानीमा रहेकी पन्त निर्वाध कार्यालयमा आउन थालेपछि प्लान बीलाई अञ्जाम दिने योजना बनाइरहेकाहरु उत्साहित देखिएका स्रोतको दाबी छ ।  

'मैले राष्ट्रबैंक र सीआईबीलाई समेत मिलाइसकेँ भन्दै कार्यालय फर्किनुभएको छ । पुरानै रवाफ देखिनुको पछाडि केही न केही खिचडी पाकिरहेको प्रतित हुन्छ ।' बैंकस्थित उच्च स्रोतले भन्यो- 'शेरचन नेतृत्वमा आउनु र रश्मी आउनु उस्तै हो । रश्मीलाई सीईओ बनाउन सकिए शेरचन नेतृत्वमा भएका गलत कामहरुका प्रमाण नष्ट गर्ने, कतिपय फाइल म्यानेज गर्ने उहाँहरुको दाउ हो । यो कुरा केन्द्रीय बैंकले पनि बुझोस् ।'  

बाहिरबाट सीईओ ल्याउने तेश्रो विकल्प

यसैबीच, बैंकभित्रका केही अधिकारीहरु भने प्रभूलाई अहिलेको संकटबाट पार लगाउन बाहिरबाट कुनै क्षमतावान बैंकरलाई सीईओको रुपमा ल्याउने लविङमा छन् । केही फुर्सदिला बैंकर यसका लागि तयार पनि देखिएका छन्, तर राष्ट्रबैंक र विशेष गरी गभर्नर विश्वनाथ पौडेलले आफ्नो कुरा प्रष्ट नराख्दा यसमा बिलम्ब भइरहेको छ ।  

राष्ट्रबैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र लगायतका उच्च अधिकारी पनि बाहिरबाट सीईओ लगेर बैंकलाई जोगाउने पक्षमा छन् । तर, दुई महिनापछि कार्यकाल सकिन लागेका डेपुटीको कुरा गभर्नरले कम सुन्न थालेपछि त्यहाँ पनि समस्या भएको बुझिएको छ ।  

प्रभू बैंकका केही व्यक्ति(पूर्व सञ्चालक, प्रमोटर)हरु भने बैंकका केही पूर्व कर्मचारीहरुलाई सीईओको रुपमा ल्याउने अलग्गै अभियान चलाइरहेका छन् ।  

यता, कतिपय प्रमोटर तथा कर्मचारीहरु भने अहिलेको सञ्चालक समिति नै शेरचन र भट्टचन समूहको रहेको दाबी गर्दै त्यसलाई एनसीसी बैंकको मोडलमा निलम्बन गर्नुपर्ने, राष्ट्रबैंकबाट अन्तरिम सञ्चालक समिति बनाइनुपर्ने र बाहिरबाट क्षमतावान बैंकरलाई नेतृत्वमा ल्याएर बैंकलाई डूब्नबाट जोगाउनुपर्ने अभियानमा छन् । यो अजेण्डामा हाल फुर्सदिला रहेका केही क्षमतावान बैंकर पनि सकारात्मक छन् र केन्द्रीय बैंकले अन्तरिम सञ्चालक समिति बनाउने हो भने बैंक सम्हाल्न जान तयार देखिएका छन् ।  

उच्च स्रोतहरुका अनुसार पछिल्लो यो अजेण्डाप्रति गभर्नर पौडेल पनि सकारात्मक छन् । तर हालसम्म खुलेर ‘प्रभू बैंकलाई जोगाउन यही बाटो जानुपर्छ’ भने भनिसकेका छैनन् । गभर्नरले ढिलो निर्णय गर्दा शेरचन समूहले थप खेल्ने ठाउँ पाइरहेको समेत कतिपयको शंका छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.