काठमाण्डौ । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट डेढ खर्ब कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनासम्ममा सेयर लगानीकर्ताहरुले बैंक वित्तीय संस्थाबाट आफ्नो स्वामित्वको सेयर धितो राखेर १ खर्ब ४६ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको लोन लिएका हुन् ।
यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २९.२५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बैक वित्तीय संस्थाबाट १ खर्ब १३ अर्ब ६ करोड ७८ लाख रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको थियो ।
बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ । लगानीकर्ताहरुले आफ्नो नाममा भएको सेयर बैंक वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।
तर सेयर धितो राखेर लिएको कर्जा भने लगानीकर्ताले जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न सक्नेछ । तर अधिकांश सेयर धितो कर्जा सेयर खरिदमा नै प्रयोग हुने देखिएको छ । धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या बढेसँगै बैंक वित्तीय संस्थाबाट यस्तो प्रकृतिको कर्जा प्रवाह बृद्धि भएको हो ।
सो अवधिसम्म वाणिज्य बैंकहहरुबाट मात्रै १ खर्ब २३ अर्ब ४३ करोड २१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३५।३३ प्रतिशत बढी हो । गत आवको चार महिनासम्ममा वाणिज्य बैंकहरुबाट मात्रै ९१ अर्ब २१ करोड १४ लाख रुपैयाँ बराबरको यस्तो कर्जा प्रवाह भएको थियो ।
सो अवधिसम्म आइपुग्दा एनआइसी एशिया बैंक र नेपाल बैंकबाहेक सबै बैंकको यस्तो कर्जा प्रवाहमा उल्लेख्य वृद्धि देखिएको छ ।
साथै विकास बैंकहरुबाट पनि कात्तिक मसान्तसम्म १८ अर्ब ८८ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ७.१८ प्रतिशत बढी हो । गत आवको कात्तिक महिनासम्म विकास बैंकहरुबाट १७ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो ।
विकास बैंकहरुमा गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र सिन्धु विकास बैंकको यस्तो कर्जा प्रवाहमा संकुचन देखिएको छ भने बाँकी सबै बैंकहरुको उल्लेख्य बढेको छ ।
त्यस्तै, फाइनान्स कम्पनीहरुको यस्तो कर्जा प्रवाहमा भने ९.६८ प्रतिशतको गिरावट देखिएको छ । गत आवको कात्तिक महिनासम्ममा ४ अर्ब २३ करोड २७ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका फाइनान्स कम्पनीहरुले चालु आवको सोही अवधिसम्म ३ खर्ब ८२ करोड २९ लाख रुपैयाँ मात्रै यस्तो कर्जा प्रवाह गरेका छन् ।
फाइनान्स कम्पनीहरुमा अधिकांशको यस्तो कर्जा प्रवाहमा संकुचन देखिएको छ । सो अवधिसम्म आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र समृद्धी फाइनान्सको यस्तो कर्जा प्रवाह बढेको देखिएको छ भने बाँकी सबैको घटेको छ ।

