काठमाण्डौ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सुनचाँदी बजारमा फैलिँदै गरेका अनियमित कारोबारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार, पछिल्ला समयमा चाँदीमा सुन मिसाएर गहना निर्माण गर्ने र भारतबाट वैध तथा अवैध रूपमा भित्राइएका गहनाहरू कम तौलमा, ठूलो र आकर्षक देखाएर सस्तो मूल्यमा बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको छ।
महासंघले यस किसिमका मिश्रणयुक्त गहनाहरूले उपभोक्तालाई भ्रममा पार्ने, सुनको शुद्धता र तौलमा प्रश्न उठाउने, बैंक तथा वित्तीय संस्थामा धितो कारोबारमा समस्या सिर्जना गर्ने, र समग्र सुनचाँदी पेशाको विश्वास तथा प्रतिष्ठा खस्किने चेतावनी दिएको छ। साथै, यसले वास्तविक कालिगढ र इमानदार व्यवसायीहरूलाई प्रत्यक्ष रूपमा असर गर्ने महासंघको निष्कर्ष छ।
महासंघले सबै सदस्य, व्यवसायी, कालिगढ र सरोकारवालालाई कानून विपरीत तथा गैरजिम्मेवार कारोबार नगर्न निर्देशन दिएको छ। महासचिव निर बहादुर विश्वकर्मा (विमल)ले, यस्ता गतिविधि निरन्तर भएमा सुनचाँदी व्यवसायको भविष्य नै संकटमा पर्न सक्ने भएकाले सबैलाई सजग र जिम्मेवार बन्न आग्रह गरेका छन् ।
महासंघले यस्ता अनियमति गतिविधि गरेको पाइएमा सम्बन्धित निकायमा आवश्यक कारवाहीको लागि सिफारिश गरिने चेतावनी समेत दिएको छ ।

