यन चेन
-बीबीसी चाइनिज
सन् १९७८ मा चीनले खुला व्यवस्था अँगाल्दै अर्थतन्त्रमा सुधार गर्न थालेपछि जीडीपीको वृद्धि वार्षिक औसत ९ प्रतिशत रह्यो।
जब कोभिड महामारीले विश्वको वृद्धि प्रणालीलाई कमजोर बनायो चीनले दशकौँमा सबैभन्दा कमजोर वृद्धि सामना गर्यो। सन् २०२० मा २.२ प्रतिशतको वृद्धि देखियो।
अर्को वर्ष त्यो ८ प्रतिशतभन्दा बढीले पुन: लयमा फर्कियो तर सन् २०२२ मा ३ प्रतिशतको मात्र वृद्धि देखा पर्यो।
त्यसो भए के चीन कम वृद्धिको एउटा लामो चरणमा प्रवेश गरेको हो?
यहाँ हामीले त्यहाँको अर्थतन्त्रमा के गलत हुन सक्छ र विश्वभरका हामीहरूका लागि त्यसको अर्थ के छ भनेर केलाएका छौँ।
१. चीनको अर्थतन्त्रमा के भइरहेको छ?
ज्यानुअरीमा चीनले आफ्नो अर्थतन्त्र सन् २०२३ मा ५.२ प्रतिशतले बढेको घोषणा गर्यो जुन विश्वका शीर्ष अर्थतन्त्रमध्येमा भारतभन्दा मात्र राम्रो थियो।
आकारमा चीनको अर्थतन्त्र भारतको भन्दा पाँच गुणा ठूलो छ।
तर देशभित्र मानिसहरूले बेग्लै अनुभूति गरिरहेका छन्: सन् २०२३ मा पाँच वर्षमै पहिलो पटक ठूलो वैदेशिक लगानी बाहिरिएको छ; गत वर्षको जुन महिनामा युवा बेरोजगारी अहिलेसम्मकै उच्च २० प्रतिशत नाघेको छ; यो वर्षको सुरुमा पुँजीबजार पाँच वर्षयताकै न्यून विन्दुमा पुगेको छ।
क्रुद्ध चिनियाँहरूको एउटा सानो सङ्ख्याले आफ्नो देशको खस्कँदो आर्थिक अवस्थाबारे गत वर्ष धेरैजसो चीनको अमेरिकी दूतावासको वूइबो खातामा खुलस्त लेखेका छन्।
एकजना प्रयोगकर्ताले “लामो समय बेरोजगार बनेको र ऋणमा रहेको” भन्दै सहायता मागेका थिए। अर्को पोस्टमा पुँजी बजारमा पैसा गुमाएको भन्दै अमेरिकी सरकारले “साङ्घाइ स्टक एक्सेन्ज उडाउन केही बम दिन्छ कि” भनेर लेखेका थिए।
पश्चिमा सञ्चारमाध्यमका रिपोर्ट अनुसार धेरैजसो ती प्रतिक्रिया पछि मेटिएका थिए।
डच ब्याङ्क आइएनजीका मुख्य अर्थशास्त्री ल्याङ सोङले कोभिड-१९ पछि चीनको तङ्ग्रने प्रयास कमजोर हुनुको कारण “विश्वका अन्य देशहरू जस्तो चीनले विकासलाई तीव्रता दिन धेरै आक्रामक नीतिहरू नअपनाउनु हो।”
जहाँ अमेरिका जस्ता देशहरूले कोभिडबाट राहत दिन योजनाहरू लागु गरेका छन्।
अमेरिकाको १.९ ट्रिलियन डलरको राहत योजनाले बेरोजगारहरूलाई आर्थिक सहयोग र महामारीको समयमा साना व्यवसाय, राज्य र स्थानीय सरकारहरूलाई थप सहयोग प्रदान गरेको छ।
"चीनको आर्थिक नीति अधिक संयमित छ। फलस्वरूप, चीनमा मुद्रास्फीति समस्या भएको छैन, तर आर्थिक सुधार पनि कमजोर भएको छ," सोङ भन्छन्।
सोङले त्यसबारे थप्छन्: "महामारीभरि चीनको आर्थिक नीति निकै कडा रह्यो। फलस्वरूप चीनमा मुद्रास्फीतिको चुनौती खडा भएन । तर, यसले देशको आर्थिक पुनरुत्थानको गतिलाई पनि सुस्त बनायो।"
चीनका धेरै नागरिकले अहिलेसम्म निर्माण नभएका घरहरूमा आफ्नो बासको पूरा मूल्य तिरेका छन्।
इन्भेष्टमेन्ट ब्याङ्क यूबीएसकी वाङ ताओले चीनको अर्थतन्त्र फेरि उकालो लाग्न नसक्नुको अर्को कारण औँल्याउँदै भन्छिन्, "अहिले चीन इतिहासकै सबैभन्दा खराब घरजग्गा बजार गिरावटको अवस्थाबाट अगाडि बढिरहेको छ।"
वाङ ताओ थप्छिन्: "चीनको ६० प्रतिशतभन्दा बढी घरपरिवारको सम्पत्ति आवास क्षेत्रमा लगानी गरिएको छ। घरको मूल्य घट्दा मानिसहरू निश्चित रूपमा पैसा खर्च गर्न हिचकिचाउँछन्। उदाहरणका लागि, ठूला घरायसी उपकरणहरूको खपतमा उल्लेखनीय गिरावट आएको यसको स्पष्ट सङ्केत हो।"
चीनको घरजग्गा बजारले यसको अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ किनभने यसको अर्थतन्त्रमा यस क्षेत्रको हिस्सा करिब एक तिहाइ छ।
देशको अर्थतन्त्रको एकतिहाइ हिस्सा समेट्ने चीनको घरजग्गा बजारले एउटा मुख्य असर सामना गरिरहेको छ।
उक्त उद्योगले सन् २०२१ यता मुख्य आर्थिक दबाव सामना गरिरहेको छ।
अधिकारीहरूले ठूला घरजग्गा कम्पनीहरूले लिन पाउने ऋणमा सीमा तोकिदिएपछि त्यस्तो अवस्था देखा परेको हो।
वर्षौँसम्म चीनको घरजग्गा क्षेत्रले ब्याङ्कहरूबाट ऋण लिँदै, बन्ड जारी गर्दै र घरहरू बन्नुअगावै क्रेतालाई बेचेर आफ्ना नयाँ परियोजनाका लागि लगानी जुटाइरहेका छन्।
व्यवसायको यस्तो शैली लामो समयदेखि विभिन्न देशमा चल्तीमा छ। तर चीनका निर्माण कम्पनीहरूले निकै धेरै ऋण लिँदै त्यसको उच्चतम लाभ उठाउँदै आएका छन्।
चीनका धेरै नागरिकहरूले यी निर्माणकर्ता कम्पनीलाई आफ्ना घरहरूका लागि पैसा तिरेका थिए।
ती घरहरू या त आधा बनेका थिए वा निर्माणमा नै थिएनन् जसले गर्दा अहिले उनीहरू आफ्नो कमाइको पैसा गुमाउने खतरामा छन् ।
यीमध्ये धेरै व्यक्तिहरू त्यस्ता छन् जसले आफ्नो जीवनभरको वचत घरहरूमा लगानी गरेका छन् जुन अहिले डुब्ने जोखिममा छन्।
स्थानीय सरकारले पूर्वाधार निर्माणका लागि अर्बौं ऋण लिएका थिए।
यो ऋण तिर्न उनीहरू जग्गा बेचेर पैसा कमाउनमा भर परेका थिए। तर अहिले घरजग्गा बजार घटेपछि यी सरकारमाथि समेत दबाव बढेको छ।
स्थानीय सरकारहरूको ऋण सन् २०२२ सम्ममा ९२ ट्रिलियन युआन (अमेरिकी डलर १२.६ ट्रिलियन) सम्म पुग्ने अपेक्षा गरिएको छ, जुन चीनको आर्थिक उत्पादनको ७६ प्रतिशत हो।
जबकि अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०१९ मा यो रकम चीनको आर्थिक उत्पादनको ६२.२ प्रतिशत मात्र थियो।
यद्यपि इकोनोमिक इन्टेलिजेन्स युनिटका वरिष्ठ अर्थशास्त्री टिआनचेन सु भन्छन्: “चीनको अर्थतन्त्र खासमा सङ्कटमा छैन।”
उनले सन् २०१० को दशकमा चीनले ऋण प्रवाह गरेर आर्थिक वृद्धिदर बढाएको र त्यस अवधिमा घरजग्गा बजार र पूर्वाधारमा ठूलो वृद्धि देखा परेको बताउँछन्।
“आज जब चीनले त्यो मोडलसँग सन्तुलन मिलाउन खोजिरहेको छ त्यहाँ केही चिरा देखा पर्नु स्वभाविक छ,” सुले बीबीसीसँग भने।
“एउटा ठूलो मेसिन निकै चलेपछि थलिएको देखिन्छ र अहिले त्यसका केही पार्टपुर्जाहरू चर्कन थालेका छन्।”
२. के चीनको अर्थतन्त्रले अमेरिकालाई उछिन्ला?
सन् २०१० मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधारमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्दा गरिएको भविष्यवाणीमा चीनले अमेरिकाको अर्थतन्त्रलाई पछाडि पार्ने भनिएको थियो।
धेरैजसोले चीनले अमेरिकालाई उछिन्न अब केही समय मात्र लाग्ने बताएका थिए।
त्यसो भनिनुको कारण चीनको अर्थतन्त्र एकदमै तीव्र गतिमा बढ्नु रहेको थियो।
सन् २०१० अघिको दुई दशकको अवधि - सन् १९९२ देखि १९९५ र पुनः सन् २००३ देखि २००७ सम्म चीनको आर्थिक वृद्धिदर दुई अङ्कको वार्षिक वृद्धिमा कायम रह्यो।
आर्थिक मन्दीअघि आशावादी रहनेहरूले चीनले सन् २०२८ सम्म अमेरिकालाई पछाडि पारिसक्ने ठानेका थिए।
सोही समयमा चीनले सन् २०३२ सम्म यो लक्ष्य हासिल गर्न सक्षम हुने ठान्ने निराशावादी धारणा समेत पाइन्थ्यो।
तर अहिलेको आर्थिक अनिश्चिततालाई हेर्दा चीनले यो उपलब्धि हासिल गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको छ ?
"सक्छ तर सम्भवतः केही वर्षमै सक्दैन," हङकङ विश्वविद्यालयको सेन्टर अन कन्टेम्प्ररी चाइना एण्ड द वर्ल्ड सीसीसीडब्ल्यूका संस्थापक निर्देशक र वाशिङटन डीसीस्थित ब्रुकिङ्स इन्स्टिट्यूटमा चाइना सेन्टरका पूर्व प्रमुख प्राध्यापक ली चेङ भन्छन्।
यद्यपि टिआनचेन सुले थप प्रस्ट भाषामा बोल्दै चीनले अमेरिकालाई २०४० को दशकमा पछाडि छोड्न सक्ने बताए।
प्राध्यापक ली चेङले अमेरिकाले धेरै अनिश्चित चुनौतीहरूको सामना गरिरहेको बताउँछन्।
जसमा यसै वर्ष हुने राष्ट्रपति चुनावको नतिजाबारे अनिश्चितता पनि समावेश छ ।
उनी भन्छन्: "अमेरिकालाई अगाडि बढ्न त्यति सजिलो छैन। त्यहाँ निर्मम विभेद, जातीय तनाव, अध्यागमन नीतिजस्ता कैयौँ अनिश्चितताहरू छन् जुन हामीले ख्याल गर्नुपर्छ।"
"चीनका लागि नयाँ लाभका क्षेत्रहरू उदाएका छन्। जस्तो उक्त देश केही वर्षमै विद्युतीय कार उद्योगमा नेतृत्वदायी बनेको छ र त्यसले धेरैलाई आश्चर्यचकित पारेको छ।"
“तर चीनको लागि खराब पक्ष भनेको त्यहाँको वृद्ध बनिरहेको समाज छ। तुलनात्मक रूपमा हेर्दा चीनको भन्दा उच्च जन्मदर भएको अमेरिकामा त्यहाँको आप्रवासी जनसङ्ख्याले समेत साथ दिएको छ र उक्त देश निकै कम दबावमा छ।”
अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीको एसएआईएस चाइना ग्लोबल रिसर्च सेन्टरका निर्देशक प्राध्यापक एन्ड्रयु मर्था भन्छन् कि चीनको नेतृत्व नै अमेरिकालाई पछाडि छोड्ने कुरामा विश्वस्त छैन।
उनी भन्छन्, "आर्थिक जोखिमलाई हेर्दा चीन आफैँले अमेरिकालाई पछाडि पार्न नचाहेको हुन सक्छ । न्यून वृद्धि प्रक्षेपण, आवास सङ्कट र विश्वव्यापी आपूर्ति शृङ्खलाहरूमा परिवर्तनलाई ध्यानमा राख्दै चीनका नेताहरू जोखिमबाट टाढा देखिन्छन्। यस्तो अवस्थामा उनीहरू अमेरिकाको प्रभुत्वलाई चुनौती दिने खालका कडा आर्थिक कदम चाल्न चाहँदैनन्।"
३. चीनका लागि यसको नतिजा के हुन सक्छ?
यो प्रश्न सोध्दा "गुमेको दशक" भन्ने एउटा शब्दावली जबाफको रूपमा आउँछ जसको अर्थ आर्थिक मन्दीको एउटा लामो समय भन्ने आउँछ।
ल्याङ सोङले तथ्याङ्कहरू पछाडि चीनको अर्थतन्त्रलाई खस्काउनुमा खासमा आत्मविश्वासको कमी देख्छन्।
आत्मविश्वासको कमीले लगानी र उपभोगमा ह्रास ल्याउने र त्यसका कारण कम्पनीको मुनाफामा कमी आउँछ।
र त्यो सम्पत्तिको मूल्यमा हुने गिरावटका रूपमा प्रतिबिम्बित हुन्छ र त्यसले आत्मविश्वासलाई थप कमजोर बनाउनेजस्तो काम गर्छ।
उनी भन्छन्: "यस दुष्चक्र तोड्नका लागि उद्यमीहरूलाई सहयोग गर्ने नीतिहरू आवश्यक छ।"
यस आन्तरिक उथलपुथलबाट ध्यान मोड्नका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानमाथि आक्रमणको आदेश दिन सक्छन् भन्ने कतिपयलाई डर छ।
चीनले स्वशासित ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त माने तापनि त्यो अन्तत: आफ्नो नियन्त्रणमा आउने ठान्छ।
प्राध्यापक एन्ड्र्यू मर्थाले त्यो 'मूर्खताभन्दा बढ्ता' हुने सोच्छन्।
तर उनले चीनको झन्डामुनि मानिसहरूलाई एकताबद्ध गर्न बयानबाजी र तीखो अभिव्यक्तिमा वृद्धि हुने ठान्छन्।
यसै क्रममा प्राध्यापक ली चेङले चेतावनी दिएका छन्: "चीन अमेरिका होस् वा ताइवानका नीति निर्माताहरूसहित ताइवानविरुद्ध युद्ध चाहने जो कोहीले राम्ररी सोच्नुपर्छ कि यो युद्ध युक्रेन भन्दा पूरै फरक हुनेछ।"
"यो आर्टिफिसिअल इन्टेलिजेन्सको पहिलो युद्ध हुनेछ। यो उच्च प्रविधियुक्त , मेसिन र मेसिनको युद्ध हुनेछ।"
उनी थप्छन्: "अवश्य पनि ताइवान चीनका लागि मुख्य मुद्दा हो। तर चिनियाँ नेतृत्वलाई पनि यो थाहा छ कि युद्ध उनीहरूको अन्तिम विकल्प हो - र आर्थिक मन्दी युद्ध लड्न पर्याप्त कारण होइन।"
४. चीनको आर्थिक मन्दीले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ?
टिआनचेन सुले चीनको आर्थिक मन्दीले विश्वलाई तीन ठाउँमा असर गर्ने विश्वास गर्छन्: सामानमा, चीनको पर्यटन र भूराजनीति।
"पहिलो, चीन वस्तुको एउटा प्रमुख आयातकर्ता भएकाले सुस्त आर्थिक वृद्धिका कारण यी वस्तुहरूको माग घट्नेछ। खास गरी निर्माण क्षेत्रमा प्रयोग हुने आइरन फलाम र बक्साइटजस्ता सामानमा।"
"दोस्रो, चिनियाँ पर्यटकको सङ्ख्यामा कमीले चिनियाँ पर्यटकहरू सबैभन्दा बढी आउने देशहरूलाई क्षति पुर्याउनेछ। बाह्य पर्यटनमा निर्भर देशहरूलाई महामारीपूर्वको अवस्थामा फर्कन सकस पर्नेछ।"
"तेस्रो, देशमा आर्थिक मन्दीसँगै सार्वजनिक पुँजीको सङ्कट आयो भने सहायता र औपचारिक रूपमा ऋण दिएर भूराजनीतिमा प्रभाव पार्ने चीनको क्षमता पनि कमजोर हुनेछ।"
विगत एक दशकमा चीनले आफ्नो विश्वव्यापी पहुँच विस्तार गर्न बेल्ट एण्ड रोड अवधारणा (बीआरआई) को प्रयोग गरिरहेको छ। जसअन्तर्गत चीनले पूर्वाधार र अन्य परियोजनामा धेरै लगानी गरेको छ।
बीआरआईमार्फत् चीनले १५२ देशसँग सम्झौता गरेको छ भने तीन हजारभन्दा बढी परियोजनामा लगानी गरेको छ।
यद्यपि कतिपय आलोचकहरू भने बीआरआईका कारण देशहरू ‘चीनको ऋणको पासो’ मा फसेको बताउँछन्।
विश्वका धेरै कम वा मध्यम आय भएका देशहरूका लागि चीन बीआरआईमार्फत् ऋण पहुँच गर्ने सहज विकल्प बनेको छ।
सन् २०२२ मा विश्व ब्याङ्कको एक प्रतिवेदनले मालदिभ्स, पाकिस्तान र श्रीलङ्कालाई चीन सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता भएको उल्लेख गरेको थियो।
राष्ट्रिय जनकंग्रेसको हालैको अधिवेशनमा सी जिन्पिङले गरेको लगानीको वाचा पहिलेको तुलनामा उल्लेखनीय रूपमा घटेको देखिन्छ।
जसको अर्थ आर्थिक मन्दीका कारण चीनलाई ठूलो मात्रामा विदेशमा लगानी गर्न कठिन भएको छ।
तर आर्थिक मन्दीबीच पनि चीनको अर्थतन्त्र निकै ठूलो भएकाले यसले विश्वव्यापी वृद्धिमा ठूलो योगदान दिने ल्याङ सोङ बताउँछन्
उनी भन्छन्, "आगामी पाँच वर्षसम्म विश्व विकासमा चीन २० प्रतिशत साझेदार रहने सम्भावना छ।"
५. के चीनको अर्थतन्त्रले पुन: गति लिन सक्छ?
ल्याङ सोङले चीनको लागि प्रगतिको अर्को चरणको भनेको आर्थिक सङ्क्रमणलाई सफलतापूर्वक पूरा गर्ने क्रममा उच्च गुणस्तरको वृद्धि हासिल गर्ने र मूल्य अभिवृद्धिका वस्तुहरूमा उच्च श्रेणीमा पुग्ने हुनुपर्ने बताउँछन्
"चीनको [न्याशनल पिपल्स कंग्रेसको] 'दुई सत्र' ले देशका नीति निर्माताहरूले ठूलो चित्र र दीर्घकालीन प्राथमिकताहरूमा बढ्ता ध्यान दिएको देखाएको छ जसले चीनले अर्को चरणमा अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने टुङ्गो गर्नेछ।"
त्यसैगरी सुले चीनलाई निम्न सल्लाह दिन्छन्:
"चीनको लागि मुख्य काम भनेको घरजग्गा सङ्कटसँग थप जिम्मेवारीसाथ जुझ्नु हो।"
"दोस्रो, त्यसले आफ्नो ध्यान अर्थतन्त्रको आपूर्तितर्फ मात्र ध्यान नदिईकन अर्को मागतर्फ बदल्नुपर्छ।"
सु थप्छन्: "एक दशकभन्दा बढीको वित्तीय विस्तारपछि चीनले अब आफ्नो अर्थतन्त्रको धेरै भाग निजी र विदेशी कम्पनीहरूलाई खोल्नुपर्दछ र दीर्घकालीन आर्थिक वृद्धितर्फ डोर्याउने वित्तीय सुधारहरू लागू गर्नुपर्छ। सार्वजनिक पुँजी दिगो रूपमा उपलब्ध हुनुपर्छ।"
ल्याङ सोङले चीनको नेतृत्वले न्याशनल पिपल्स कंग्रेसमा तय गरेको ५ प्रतिशत जीडीपी वृद्धि दरको लक्ष्य हासिल गर्ने गरी काम गर्ने विश्वास गर्छन्।
"खासमा हामीले थप सहयोगी वित्तीय नीति लक्ष्यहरूमा मध्यम प्रगति देखे तापनि अझै पनि चिनियाँ सरकारको नीति र राहत उपायहरू पर्खिरहेका छौँ जुन आगामी हप्ता र महिनाहरूमा देखा पर्ने छन्। यी नीतिहरूको उद्देश्य सन् २०२४ को लागि निर्धारित वृद्धि दर हासिल गर्न हुनेछ।"
-BBC