काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३४ प्रतिशत अर्थात ९.२३ अंकले बढेर २ हजार ७१४.६१ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१० प्रतिशतले घटेर ४६५.४२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ८ अर्ब ९२ करोड बढीको कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘पछिल्लो समय सेयर लगानीकर्ताहरुमा विस्तारै कन्फिडेन्ट आउन थालेको छ । केही दिनयता बजारमा भोल्युम पनि बढेको छ भनेपछि इन्भेष्टरहरु बजारमा प्रवेश गरेको बुझ्न सकिन्छ । यसअघि बजारमा ट्रेडरहरु मात्रै हाबी थिए । ४÷५ रुपैयाँको नाफा बुक गरेर सेयर बिक्री गर्ने प्रवृत्तिले बजारमा स्थायीत्व थिएन ।’
उनले थपे, ‘अब दीर्घकालिन तथा मध्यकालिन रुपमा लगानी गर्ने लगानीकर्ताहरुको बजारमा प्रवेश भएको छ । नीतिगत कारणले अहिले लगानीकर्तामा मनोबल बढेको देखिन्छ । बैंकहरुमा तरलता पर्याप्त र ब्याजदर पनि घट्दो रुपमा रहेकाले बजारमा अझै ठूलो रकम भित्रिन सक्ने देखिन्छ । साथै आउँदै गरेको चुनावपछि बन्ने सरकार दिगो बन्ने आम लगानीकर्ताहरुमा विश्वास छ । प्राय दलहरुले आफ्ना घोषणापत्रमा पूँजीबजारलाई समेत प्राथमिकतामा राखेका कारण लगानीकर्ताहरु उत्साहित छन्, यसकारण सेयरबजार विस्तारै दिगो हुँदै जान्छ भन्ने विश्वास छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये तीनवटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात २.३८ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.५१ प्रतिशत, होटल १.२६, हाईड्रो ०.८६, लगानी ०.०९, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन १.३५, लघुवित्त ०.३६, निर्जीवन बीमा ०.२३ र अन्य समूह ०.३६ प्रतिशतले बढ्यो ।
व्यापार समूह आज सर्वाधिक अर्थात १.१५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३१ प्रतिशत र म्युचुअल फण्ड ०.०७ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज आँखुखोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४० करोड ८२ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, मन्जुश्री फाइनान्सको ३५ करोड ९४ लाख, एसवाई प्यानल नेपालको ३२ करोड ९५ लाख र बन्दिपुर केवलकारको २८ करोड २७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज एसवाई प्यानल, श्रीनगर एग्रीटेक, त्रिशुली जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यसैगरी, रावाँ इनर्जीको सेयरमूल्य ९ प्रतिशत, झापा इनर्जीको ८.४७ र बन्दिपुर केवलकारको सेयरमूल्य ८.२९ प्रतिशतले बढ्यो ।
कालिका पावरको सेयरमूल्य सर्वाधिक अर्थात ६.२५ प्रतिशतले घट्यो। यस्तै फर्स्ट माईक्रोफाइनान्सको २.२६ र मैलुङ खोला जलविद्युतको सेयरमूल्य २.२६ प्रतिशतले घट्यो ।

