काठमाण्डौ । अघिल्लो दिन उच्च अंकले बढेको सेयरबजारमा आज सामान्य अंकको करेक्सन आएको छ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.११ प्रतिशत अर्थात ३.०७ अंकले घटेर २ हजार ७६९.०९ विन्दुमा झरेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४७१.८३ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर १६ अर्ब ३५ करोड ५७ लाख बढीको सेयर कारोबार भयो । गत बिहिबार भने १३ अर्ब ७८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘चुनाव हुने पक्कापक्की भएपछि केही दिनयता सेयरबजारमा रौनकता छाएको छ । सेयरबजार गत सातादेखि लगातार बढेको पनि छ । लगानीकर्ताहरुले आज नाफा बुक गर्दा बजारमा सामान्य करेक्सन देखिएको हो, तर आत्तिहाल्नुपर्ने अवस्था भने छैन । साथै इतिहासमा हेर्दा चुनावको समयमा सेयरबजार बढेकै हुन्छ ।’
उनले थपे, ‘यो बेला विभिन्न क्षेत्रका पैसा सेयरबजारमा आउने हुँदा मार्केट बढ्नका लागि प्लस प्वइन्ट हुन्छ । आज बजारमा सामान्य करेक्सन देखिनु बजारको दीगोपनको लागि राम्रो पनि हो । लगातार बढेको बजार दीगो हुँदैन र आज राम्रो विन्दुमा पुगेर नेप्से क्लोज भएको जुन राम्रो पनि हो । यहिअनुसार बजारमा भोल्युम वृद्धिसँगै सहित सानो–सानो करेक्सन देखिएर विस्तारै बढेको बजार दीगो हुन्छ । अझै सेक्टर रोटेसन भई बजार बढ्दै गएमा बजार अझै माथि जाने देखिन्छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात १.६७ प्रतिशतले बढ्यो । हाईड्रो समूह पनि आज ०.३०, उत्पादन तथा प्रशोधन ०.४० र म्युचुअल फण्ड ०.७८ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज हिमालयन पावर पार्टनरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६५ करोड ९३ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, आँखुखोला जलविद्युतको ५६ करोड १६ लाख, मन्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख, एसवाई प्यानलको ५० करोड १७ लाख र बन्दीपुर केवलकारको ४० करोड ५५ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएकामध्ये ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज एसवाई प्यानल, हिमस्टार उर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक, माउन्टेन हाईड्रो र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यसैगरी, ट्रेड टावरको सेयरमूल्य ९.२५ प्रतिशत, त्रिशुली जलविद्युतको ८.९३ र बन्दीपुर केवलकारको सेयरमूल्य ८.०७ प्रतिशतले बढ्यो ।
नेशनल हाईड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ३.१२ प्रतिशतको गिरावट आयो । यस्तै कालिका पावरको २.९६ र ज्योती विकास बैंकको सेयरमूल्य पनि २.९५ प्रतिशतले घट्यो ।

