काठमाण्डौ । साताको तेस्रो कारोबार दिन पनि सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३८ प्रतिशत अर्थात १०.२५ अंकले घटेर २ हजार ६६२.१४ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले घटेर ४५४.३९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर ८ अर्ब १६ करोड ६४ लाख बढीको सेयर कारोबार भयो । अघिल्ला दिन भने १० अर्ब ७७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार अजय सिं थापा (जय शम्भु)भन्छन्, ‘बजार केही दिनअघि राम्रै भोल्युममा माथि गएको थियो तर यसअघिको च्यानल भने ब्रेक गर्न सकेको छैन । उक्त च्यानल र ट्रेन्ड लाइन ब्रेक नहुँदासम्म बजार करेक्सन फेजमै चलेको बुझिन्छ । तर बजारको अवस्थालाई नियाल्दा चुनावसम्म वा चुनावको नतिजा आउँदासम्म बजार २७ सय भन्दा माथि बसेर ३ हजार विन्दुसम्म पुग्ने सम्भावना भने देखिन्छ ।’
बजारमा सप्लाईको अवस्था हेर्दा ठूलो ग्रोथ हुने खालको माहोल बनाउने सम्भावना न्यून रहेको उनले बताए । तरपनि लिमिटेड स्टक र केही सेक्टरले गर्दा मार्केटलाई ३ हजारसम्म पुर्याउने सम्भावना रहेको उनको बुझाई छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड र व्यापार समूह मात्रै बढे । यी समूहहरु आज क्रमशः ०.१९ र ०.५२ प्रतिशतले बढे ।
विकास बैंक समूह आज सर्वाधिक अर्थात १.१५ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.०९ प्रतिशत, विकास बैंक १.१५, फाइनान्स ०.९२, होटल ०.४८, हाईड्रो ०.२५, लगानी ०.५४, जीवन बीमा ०.७६, उत्पादन तथा प्रशोधन ०.६५, लघुवित्त ०.४९, निर्जीवन बीमा ०.६१ र अन्य ०.३५ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज अरुण भ्याली हाईड्रो पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४५ करोड २८ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, आँखुखोला जलविद्युतको ४० करोड ७९ लाख, रिडी पावरको ३८ करोड ८६ लाख, युनियन हाईड्रोपावरको ३२ करोड ६० लाख र अरुण काबेली पावरको ३२ करोड ५३ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन। आज कालिञ्चोक दर्शनको सेयरमूल्य सर्वाधिक अर्थात ६.३६ प्रतिशतले बढ्यो ।
यस्तै अरुण भ्याली हाईड्रोको सेयरमूल्य ५.१८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ३.९९ र अरुण काबेली पावरको सेयरमूल्य ३.९० प्रतिशतले बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.२४ प्रतिशतले घट्यो । यस्तै माईखोला हाईड्रोको सेयरमूल्य ४.६३, घलेम्दी हाईड्रोको ४.२८ र सुपरमादी हाईड्रोपावरको सेयरमूल्य ४.२७ प्रतिशतले घट्यो ।

