काठमाण्डौ । सागर डिस्टिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बिक्री आम्दानी उल्लेख्य रूपमा बढाए पनि खर्च नियन्त्रणमा असफल हुँदा घाटा झनै बढेको छ। कम्पनीले समीक्षा अवधिसम्म २ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जुन अघिल्लो आवको सोही अवधिको १ करोड ४५ लाख रुपैयाँ घाटाभन्दा उल्लेख्य रूपमा बढी हो।
कम्पनीको बिक्री आम्दानी ३ करोड ७६ लाख रुपैयाँबाट उक्लिँदै ६ करोड १ लाख रुपैयाँ पुगेको छ। अन्य सञ्चालन आम्दानी भने १ करोड ३४ लाखबाट घटेर ४२ लाख ६० हजार रुपैयाँमा सीमित बनेको छ ।
तर, आम्दानीको वृद्धिलाई खर्चको तीव्र बढोत्तरीले ओझेलमा पारेको छ। कर्मचारी सुविधा खर्च १ करोड ४९ लाख रुपैयाँबाट बढेर २ करोड ९१ लाख रुपैयाँ पुगेको छ। प्रशासनिक तथा अन्य खर्च ५० लाख ८२ हजार रुपैयाँबाट ६१ लाख ४६ हजार रुपैयाँ पुगेको छ भने बिक्री तथा वितरण खर्च १ करोड ८० लाख रुपैयाँबाट २ करोड १ लाख रुपैयाँमा उक्लिएको छ।
वित्त खर्च समेत ९५ लाख ६९ हजार रुपैयाँबाट बढेर १ करोड २० लाख रुपैयाँ पुगेको छ, जसले ऋण भार र ब्याज लागतको दबाब देखाउँछ।
कम्पनीको कुल चालु सम्पत्ति ७७ करोड ८८ लाख र कुल चालु दायित्व ४१ करोड ४४ लाख पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.२१ रुपैयाँले ऋणात्मक, तरलता अनुपात १.८८ प्रतिशत र प्रतिसेयर नेटवर्थ १२८.३४ रुपैयाँ कायम भएको छ ।

