सागर डिस्टिलरी लिमिटेडको व्यापारमा उल्लेख्य सुधार देखिए पनि कम्पनी अझै घाटामै रहेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीको बिक्री आम्दानी ६३.२ प्रतिशतले बढेको छ भने खुद घाटा अघिल्लो वर्षको तुलनामा उल्लेख्य घटेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ४९ लाख २५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड ५३ लाख २४ हजार रुपैयाँ घाटामा थियो। यस आधारमा कम्पनीको घाटा करिब ६७.९ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल बिक्री आम्दानी ४ करोड ५० लाख ६२ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ करोड ७६ लाख १४ हजार रुपैयाँ थियो।
कम्पनीको कुल सञ्चालन आम्दानी ३ करोड १२ लाख ८६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ करोड १ लाख १६ हजार रुपैयाँ रहेको थियो।
कम्पनीको सञ्चालन नाफा भने सकारात्मक बनेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १ करोड ११ लाख १५ हजार रुपैयाँ सञ्चालन घाटा रहेको कम्पनीले यस वर्ष ४५ लाख ६८ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ।
तर वित्तीय खर्च उच्च हुँदा कम्पनी समग्रमा घाटामा देखिएको हो। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ८३ लाख ५८ हजार रुपैयाँ रहेको छ।
कम्पनीको चुक्तापूँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति १ अर्ब ६५ करोड ७९ लाख ९७ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ऋणात्मक ०.६८ रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ईपीएस ऋणात्मक २.११ रुपैयाँ थियो।
कम्पनीको प्रतिसेयर नेटवर्थ ११९.१५ रुपैयाँ र चालु अनुपात २.१८ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।