काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार देखाएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २९ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६ करोड ३३ लाख रुपैयाँको तुलनामा ३७०.७६ प्रतिशतले बढी हो।
कम्पनीको नाफामा आएको यो तीव्र वृद्धि मुख्यतः अन्य आम्दानीमा देखिएको उल्लेखनीय बढोत्तरीका कारण सम्भव भएको देखिन्छ। अघिल्लो वर्ष समीक्षा अवधिसम्म कुनै पनि अन्य आम्दानी नगरेको कम्पनीले यस वर्ष भने ३५ करोड ७३ लाख रुपैयाँ अन्य आम्दानी आर्जन गरेको छ।
विद्युत बिक्रीबाट हुने आम्दानीमा भने सामान्य वृद्धि मात्रै देखिएको छ। गत वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ५९ लाख रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी यस वर्ष बढेर ७ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
यद्यपि कम्पनीको वित्त आम्दानी घटेको छ। अघिल्लो वर्ष ४ करोड ६१ लाख रुपैयाँ रहेको वित्त आम्दानी यस वर्ष घटेर २ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ।
साथै, वित्त खर्च १ करोड ४ लाख रुपैयाँबाट बढेर १ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने साधारण खर्च पनि १ करोड ७ लाख रुपैयाँबाट बढेर १ करोड ८२ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३२.४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७१.०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०६.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.७१ गुणा र तरलता अनुपात २.३९ प्रतिशत कायम भएको छ ।

