काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.८२ प्रतिशत अर्थात् २१.६२ अंकले बढेर २ हजार ६३८.६० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ४५३.३७ विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत ३२८ वटा कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २३ करोड २४ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो कारोबार दिन भने ५ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
आजको बजारबारे बजार जानकार कविराज तिमिल्सिना भन्छन्, ‘केही समयअघिसम्म चुनाव हुने नहुने विषयको अन्योलताले सेयरबजारलाई प्रभाव पारेको थियो । तर अब चुनाव हुने निश्चित नै देखिएपछि सेयर लगानीकर्ताहरुमा मनोबल बढेको देखिएपछि बजारमा सुधार आएको छ । सेयरबजारलाई विशेषगरी मनोवैज्ञानिक पक्षले प्रभाव पार्ने हुँदा लगानीकर्ताको सेन्टिमेन्ट कस्तो छ, त्यो अनुसार नै बजार घटबढ हुन्छ ।’
उनले थपे, ‘सम्भवतः चुनावअघि सेयरबजारमा त्यस्तो ठूलो अंकको उतारचढाव देखिँदैन । स–सानो अंकको घटबढ हुने सम्भावना छ । यदि चुनावपछि स्थिर सरकार बन्ने पक्कापक्की भयो भने बजारमा ठूलो अंकको वृद्धि हुने देखिन्छ । यदि चुनावपछि गठबन्धनको सरकार बन्यो भने पहिला जस्तै सय दुई सय अंकको तलमाथि जान सक्ने सम्भावना देखिन्छ ।’
सबै समूहमा हरियाली
आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छायो । होटल समूह आज सर्वाधिक अर्थात २.०२ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.३० प्रतिशत, विकास बैंक १.११, फाइनान्स ०.६४, हाईड्रो १.२७, लगानी ०.६१, जीवन बीमा ०.७०, उत्पादन तथा प्रशोधन १.७६, लघुवित्त ०.७९, म्युचुअल फण्ड ०.०९, निर्जीवन बीमा ०.५२, अन्य ०.३३ र व्यापार समूह १.४९ प्रतिशतले बढ्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज एसवाई प्यानल नेपालको सर्वाधिक ३७ करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
त्यसैगरी आँखुखोला जलविद्युतको २४ करोड ६९ लाख, राधी विद्युतको १६ करोड १२ लाख, ङादी ग्रुप पावरको १५ करोड ४६ लाख र रिडी पावरको ११ करोड ४६ लाख बढीको सेयर कारोबार भएको छ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरूमध्ये सालपा विकास बैंकको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ।
यसैगरी रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य ९.३१ प्रतिशत, हिमालयन पावर पार्टनरको ९.१५, सागर डिष्ट्रिलरीको ८.९६, बन्दीपुर केवलकारको ८.३४, आँखुखोला जलविद्युतको ६.४१ र क्रेष्ट माईफो लाइफको सेयरमूल्य ६.०६ प्रतिशतले बढ्यो ।
यता नेपाल एसबीआई बैंकको सेयरमूल्य सर्वाधिक ३.५८ प्रतिशतले घटेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।