काठमाण्डौ । अमेरिका इराने द्वन्द्वले विश्व सेयर बजारमा तनाव सिर्जना गरेको छ। बुधबार एशियाली सेयर बजार तेस्रो दिन लगातार घटेका छन् भने तेलको मूल्य बढेको छ। बजारमा द्वन्द्व लामो समयसम्म चल्न सक्ने भय व्याप्त भएको छ । जसले ऊर्जा संकट र महँगी बढाउने सम्भावना देखिएको विश्लेषकहरुले बताएका छन् ।
बुधबार दक्षिण कोरियाको सेयरबजार मापक कोस्पी इन्डेक्स १२ प्रतिशतले घटेको छ। गिरावट रोक्न सर्किट ब्रेकर लगाइएको थियो । जसका कारण २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । यो अगस्त २०२४ पछि पहिलो सर्किट ब्रेकर हो ।
थाइल्याण्डको बजार पनि ८ प्रतिशत भन्दा बढी घट्दा सर्किट ब्रेकर लाग्यो। जापानको निक्की२२५ इन्डेक्समा समेत ३.६ प्रतिशतको गिरावट देखियो । हङकङको हाङसेङ इन्डेक्स २.५ प्रतिशतले तल झर्यो।
यसैगरी चीनको साङघाई कम्पोजिट ०.८ प्रतिशतले घट्यो ।
मध्यपूर्वको तनावले तेल र ग्याँस मूल्यमा समेत उछाल आएको छ । ब्रेन्ट क्रूडको मूल्य २.५ प्रतिशतले बढेर प्रतिब्यारेल ८३.९६ डलर पुगेको छ । हालको द्वन्द्व सुरु भएयता तेलको मूल्य १५ प्रतिशतले बढिसकेको छ ।

