काठमाडौं । चर्चित पुस्तक Rich Dad Poor Dad का लेखक Robert Kiyosaki ले विश्व अर्थतन्त्र इतिहासकै सबैभन्दा ठूलो वित्तीय बबलको संघारमा पुगेको चेतावनी दिएका छन्।
उनले सामाजिक सञ्जाल X (formerly Twitter) मा सार्वजनिक गरेको अभिव्यक्तिमा यस्तो बबल जुनसुकै बेला फुट्न सक्ने उल्लेख गरेका हुन्। उनका अनुसार बबल फुट्नु निश्चित भए पनि ‘कहिले’ भन्ने मात्र प्रश्न बाँकी रहेको छ।
कियोसाकीले कुनै ठूलो घटना वा ट्रिगरले यो बबल फुटाउने बताउँदै त्यस्तो अवस्था अब धेरै टाढा नरहेको संकेत गरेका छन्।
बबल फुटेपछि भने सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि हुने उनको दाबी छ। उनका अनुसार एक वर्षभित्र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३५ हजार डलरसम्म पुग्न सक्छ, जुन हालको तुलनामा करिब सात गुणा बढी हो।
त्यस्तै, चाँदीको मूल्य पनि एक वर्षपछि प्रति औंस २०० डलरसम्म पुग्ने प्रक्षेपण उनले गरेका छन्, जुन अहिलेको करिब ८२ डलरको तुलनामा झण्डै साढे दुई गुणा वृद्धि हो।
क्रिप्टोकरन्सी बजारबारे पनि उनले आक्रामक अनुमान प्रस्तुत गरेका छन्। उनका अनुसार Bitcoin को मूल्य एक वर्षभित्र ७ लाख ५० हजार डलरसम्म पुग्न सक्छ, जुन हालको करिब ७४ हजार डलरको तुलनामा १० गुणाभन्दा बढी वृद्धि हो।
त्यसैगरी Ethereum को मूल्य पनि उल्लेख्य रूपमा बढेर ९५ हजार डलरसम्म पुग्ने उनले बताएका छन्।
कियोसाकीले यसअघि पनि सुन, चाँदी र क्रिप्टोसम्बन्धी यस्तै प्रकारका भविष्यवाणी गर्दै आएका छन्। उनका केही अनुमान सही सावित भएका छन् भने केही विवादित पनि बनेका छन्।
उनले आगामी सम्भावित संकटलाई लगानीकर्ताका लागि अवसरको रूपमा लिन सकिने उल्लेख गर्दै सही समयमा सही सम्पत्तिमा लगानी गर्नेहरूले लाभ लिन सक्ने बताएका छन्।
यद्यपि, आर्थिक विश्लेषकहरूले यस्ता प्रक्षेपणलाई उच्च जोखिमयुक्त र सावधानीपूर्वक लिनुपर्ने सुझाव दिएका छन्।

