काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठनपछि मन्त्रालयहरूमा हुने अनावश्यक भीडभाड र भेटघाट नियन्त्रण गर्न आफ्ना नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई कडा निर्देशन दिएको छ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले जारी गरेको निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिन भन्दै मन्त्रालयमै पुगेर भीडभाड गर्ने, फूलमाला लगाउने, फोटो खिच्ने जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ। यस्ता क्रियाकलापले सरकारी कामकाजमा अवरोध पुर्याउने र कार्यसम्पादनमा असर पर्ने निष्कर्ष पार्टीले निकालेको छ।
आयोगले नागरिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने वर्तमान सन्दर्भमा मन्त्रालयहरूमा अनावश्यक जमघटले ढिलाइ र अव्यवस्था निम्त्याउने भन्दै यस्ता कार्य नगर्न स्पष्ट निर्देशन दिएको हो। साथै, पार्टीसँग सम्बन्धित बाह्य शुभेच्छुकहरूलाई पनि यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरिएको छ।
रास्वपाले सरकार सञ्चालनलाई प्रभावकारी, छिटो र परिणाममुखी बनाउन अनुशासन र संयम आवश्यक रहेको उल्लेख गर्दै आफ्ना सबै पदाधिकारी तथा सदस्यलाई उक्त निर्देशन कडाइका साथ पालना गर्न भनेको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।