काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरेको जनाएको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत आपसी मिलेमतोमा भन्सार छली गरी गैरकानुनी रूपमा भित्र्याइएको इलेक्ट्रिक भेप जस्तो देखिने वस्तुमा लुकाइएको सुन जफत भए पनि सोहीअनुसार कानुनी कारबाही नगरी भ्रष्टाचार गरिएको आरोप छ।
मुद्दामा तत्कालीन भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतद्वय रमेशकुमार खतिवडा र सुबेन्द्र श्रेष्ठ तथा नायब सुब्बाहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुधन पोखरेल समेत प्रतिवादी बनाइएका छन्।
त्यसैगरी, अन्य प्रतिवादीहरूमा राहुल भन्ने रेशम महरा, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सोङ र डाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरग तथा डेक्स्टर ट्राभल्स एन्ड टुर्स प्रालि रहेका छन्।
आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर कायम गर्दै बिगो रकम ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ निर्धारण गरिएको छ। सोहीअनुसार कैद तथा जरिवानाको मागदाबी गरिएको आयोगले जनाएको छ।

