काठमाण्डौ । आजको कारोबारमा सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात् २६.१६ अंकले घटेर २ हजार ७७०.२६ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ प्रतिशतले घटेर ४६७.५७ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३४९ वटा स्क्रिप्टका १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ५३ करोड १७ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘पछिल्लो समय सेयर लगानीकर्ताहरुमा मनोबल बढ्न नसक्दा बजारले पिकअप लिन सकिरहेको छैन । सरकारले जसरी ठूला व्यवासायी वा लगानीकर्ताप्रति हतोत्साहित र धरकपड गरेको देखिन्छ, यसले सेयर लगानीकर्ताहरुमा कन्फिडेन्ट खस्किएको बुझ्न सकिन्छ । नयाँ सरकार आएपछि के–के न होला भनेर आशा बोकेका लगानीकर्ताहरु ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेजस्तै बनेका छन् । जबसम्म लगानीकर्ताको सेन्टिमेन्टमा सकारात्मक प्रभाव पारेर मनोबल बढ्दैन तबसम्म मार्केटले लय लिग्न भन्ने आशा गर्न सकिदैन ।’
उनले थपे, ‘अहिले तत्कालै बजारमा लगानी गरिहाल्ने वातावरण छैन र लगानीकर्ताहरु पनि लगानी बढाइहाल्ने मनसायमा छैनन् । आज बैंक वित्तीय संस्थाहरुको रिर्पोट पनि सार्वजनिक भएको छ । समग्रमा बैंकहरुको वित्तीय अवस्था राम्रै देखिएको छ, केहीले रिर्पोटकै आधारमा लगानी गरेका हुनसक्छन्, जसकारण आज हिजोको तुलनामा थोरै भोल्युम बढेको छ । आगामी साता पनि अब बजार साइड वेजमै बस्न सक्ने सम्भावना बढी छ । बजेट नजिकिँदै जाँदा सम्भवतः त्यसपछिको सातामा बजारमा मुभमेन्ट बनाउन सक्ने देखिन्छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह मात्रै बढ्यो । यो समूह आज ०.७३ प्रतिशतले बढ्यो । होटल समूह आज सर्वाधिक अर्थात २.५६ प्रतिशतले घट्यो ।
बैंकिङ समूह पनि आज ०.८४ प्रतिशत, विकास बैंक १.२२ प्रतिशत, फाइनान्स ०.६१,होटल २.५६, हाईड्रो १.७४, लगानी ०.४७, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन २.४६, लघुवित्त ०.४४, म्युचुअल फण्ड ०.३१, निर्जीवन ०.३९ र व्यापार समूह ०.३९ प्रतिशतले घटे ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज पाल्पा सिमेन्ट सर्वाधिक अर्थात ५८ करोड ३३ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पीनिङ मिल्सको ३४ करोड ६८ लाख, कर्पोरेछ डेभलपमेन्ट बैंकको ३० करोड २८ लाख, सोलु हाईड्रोको २८ करोड १२ लाख र कुमारी बैंकको २२ करोड १२ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज हिमालयन बैंक बोण्ड २०८६ सर्वाधिक अर्थात ६ प्रतिशतले बढ्यो । साइन रेसुङ्गा डिबेञ्चर पनि आज ३.४० प्रतिशत र आरबीबी म्युचुअल फण्ड ३.०२ प्रतिशतले बढ्यो ।
यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १४.९९ प्रतिशतले घट्यो । रिज लाइन इनर्जीको सेयरमूल्य पनि आज १०.२७ प्रतिशत र सूर्यकुण्ड हाईड्रोको सेयरमूल्य ९.९४ प्रतिशतले घट्यो ।

