काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता सम्बन्धी निर्देशन, २०८३ जारी गरेको छ ।
बीमा मध्यस्थकर्ताको रुपमा कार्यरत बीमा अभिकर्ताहरको कार्यप्रणालीलाई थप व्यवस्थित, व्यवसायिक, पारदर्शी र जवाफदेही बनाउनुका साथै बीमितिको हकहित संरक्षण गरी समग्र बीमा क्षेत्रको विश्वसनीयता अभिवृद्धि गर्न वाञ्चछनीय भएकाले प्राधिकरणले यो निर्देशिका जारी गरेको हो ।
प्राधिकरणले उक्त निर्देशिकाबमोजिम बीमा अभिकर्ताको लाइसेन्स वितरणमा थप कडाई गरेको छ ।
अभिकर्ताले ऐन तथा नियमावली बमोजिम कागजात पेश नगरेमा, बीमितको हकहित संरक्षण हुन नसक्ने देखिएमा, संस्थागत निवेदकले पछिल्लो आवको करचुक्ता प्रमाणपत्र पेश नगरेमा र प्रचलित कानूनबमोजिम कालो सूचमा परेमा प्राधिकरणले इजाजत दिन इन्कार गर्नेछ ।
साथै प्राधिकरणले ऐन तथा नियमावली बमोजिम कारबाही गरेको व्यक्ति त्यसरी कारबाही गर्ने निर्णय भएको मितिले ३ वर्षको अवधि पुरा नभएसम्म पनि अभिकर्ताको लाइसेन्स प्राप्त नहुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, प्राधिकरणको नियम ४२ बमोजिम योग्यता नभएको वा नरहेको व्यक्ति, प्रचलित कानूनबमोजिम दामासाहीमा परेको, संस्थागत अभिकर्ताको हकमा कानून बमोजिम कालो सूचीमा परेको वा कालो सूचीबाट फुकुवा भएको मितिले १ वर्ष पुरा नभएको, सम्बन्धित बीमकको बहालवाला लेखापरीक्षक वा परामर्शदाता वा बीमकसँग कुनै किसिमको स्वार्थ भएको, संस्थागत अभिकर्ताले प्रचलित कानूनबमोजिम तिर्नुपर्ने करचुक्ता नगरेको र संस्थागत अभिकर्ताले निवेदन दिएको अघिल्लो आवसम्मको वित्तीय विवरणको लेखापरीक्षण नभएको व्यक्ति अभिकर्ता बन्न अयोग्य हुनेछन् र त्यस्ता व्यक्तिलाई लाइसेन्स वितरणमा बन्देज गरिने प्राधिकरणले जनाएको छ ।
साथै प्राधिकरणले बीमा अभिकर्ताको लागि आचारसंहिता पनि लागू गरेको छ । जसमा अभिकर्ताले बीमक र स्वार्थको खुलासा गर्न सक्नुपर्नेछ र निर्णयको जानकारी गराउने, उपयुक्तता परिक्षण, व्यवसायिक सेवा र दाबीमा सहयोग गर्नुपर्नेछ ।
बीमा अभिकर्ताले पालना गर्नुपर्ने कुराहरुः–
(क) इजाजतपत्रको प्रदर्शन र आधिकारिकताः बीमा अभिकर्ताले प्राधिकरणबाट प्राप्त आफ्नो इजाजतपत्र सधैं साथमा राख्नुपर्नेछ र ग्राहकले चाहेमा वा बीमा व्यवसाय सुरु गर्नु अघि अनिवार्य रूपमा त्यस्तो इजाजतपत्र देखाउनु पर्नेछ ।
(ख) बीमक र स्वार्थको खुलासाः अभिकर्ताले आफूले प्रतिनिधित्व गरेको बीमकको यथार्थ विवरण जानकारी गराउनु पर्नेछ र बीमा सिफारिस गर्दा आफ्नो कुनै व्यक्तिगत वा वित्तीय स्वार्थ भएमा सोको समेत पूर्व जानकारी गराउनुपर्नेछ ।
(ग) तथ्यपरक परामर्श र पूर्ण जानकारीः ग्राहकलाई बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त, सुविधा, सीमा, अपवाद र दाबी प्रक्रियाका बारेमा बुझ्ने भाषामा पूर्ण जानकारी गराउनुपर्नेछ ।
(घ) कागजात संकलन र बीमक समक्ष पेशः प्रस्ताव फाराममा खुलाउनु पर्ने सम्पूर्ण विवरणहरू खुलाउन लगाई, ग्राहकको पेशा, आयस्रोत र जोखिमाङ्कनका लागि आवश्यक विवरण÷कागजातहरू बीमितबाट प्राप्त गरी बीमक समक्ष पेश गर्नुपर्नेछ ।
(ङ) फाराम भराउने र प्रमाणीकरणः बीमा प्रस्ताव तथा स्वास्थ्य सम्बन्धी विवरण फाराम प्रस्तावक स्वयंबाट भराउनु पर्नेछ । प्रस्तावक निरक्षर वा असमर्थ भएमा निजले विश्वास गरेको व्यक्तिबाट भराई सोको जानकारी बीमकको प्रणालीमा प्रविष्ट गरी प्रस्तावकलाई समेत सोको पुष्टी गराउनुपर्नेछ ।
(च) व्यावसायिक सेवा र दाबीमा सहयोगः निर्दिष्ट समयमा बीमाशुल्क बुझाउन, बीमालेख नवीकरण गर्न, इच्छाइएको व्यक्ति परिवर्तन गर्न, बीमालेख धितो राखी ऋण लिन तथा बीमितको दाबी भुक्तानी प्रक्रियामा सक्रिय समन्वय र सहयोग गर्नुपर्नेछ ।
(छ) निर्णयको जानकारीः ग्राहकको बीमा प्रस्ताव स्वीकृत वा अस्वीकृत भएको बारेमा बीमकले गरेको निर्णय अविलम्ब जानकारी गराउनुपर्नेछ ।
(ज) उपयुक्तता परीक्षणः बीमालेख सिफारिस गर्नुअघि बीमितको जोखिमको प्रकृति र वित्तीय क्षमताको लिखित वा मौखिक विश्लेषण गरी सोही आधारमा मात्र उपयुक्त बीमालेख प्रस्ताव गर्नुपर्नेछ ।
बीमा अभिकर्ताले गर्न नहुने कुराहरु:-
(क) अस्वस्थ प्रतिस्पर्धा तथा प्रलोभनः बीमा बजारमा कुनै अस्वस्थ प्रतिस्पर्धा गर्न, अन्य बीमा
अभिकर्ताको व्यवसायमा अनावश्यक दखल पुऱ्याउन वा बीमितलाई बीमालेख खरिद गर्न प्रोत्साहित गर्ने उद्देश्यले कमिसन फिर्ता दिने उपहार दिने वा पोलिसी बाहिरका कुनै पनि गैर- कानूनी प्रलोभन देखाउन वा सोको कबोल गर्न ।
(ख) बिना इजाजत व्यवसायः बीमा अभिकर्ताको इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र नवीकरण नगरी बीमालेख बिक्री गर्न।
(ग) गोपनीयता र सूचनाको इमानदारिताः ग्राहकको बारेमा आफूलाई जानकारी भएको विवरणहरू सम्बन्धित बीमक बाहेकका अन्य व्यक्ति वा संस्था सामु प्रकट गर्न वा बीमितको स्वस्थ अवस्था, उपचारको अभिलेख, उमेर, आयस्रोत तथा कागजात विवरणहरू ढाँटी वा लुकाई बीमा गर्न। (घ) दुर्व्यवहार तथा करकाप ग्राहकप्रति दुर्व्यवहार गर्न, अनावश्यक करकाप गर्न वा बीमितको इच्छा विपरित अनावश्यक रूपमा बीमालेख परिवर्तन गर्न प्रोत्साहन गर्न ।
(ङ) अनुचित आर्थिक लाभः बीमालेख बापत प्राप्त हुने रकमको कुनै पनि अंश बीमित वा बीमितको
हकवालाबाट लिन वा बीमा प्रस्ताव स्वीकृत नभएसम्म बीमाशुल्क वापतको रकम बुझिलिन ।
(च) दोहोरो भूमिका र स्वार्थको द्वन्द्वः बीमा अभिकर्ता कुनै बीमकको तलवी कर्मचारी, परामर्शदाता, सर्भेयर, सल्लाहकार वा लेखापरीक्षक भई काम गर्न ।
(छ) दर र सर्तको उल्लंघनः निर्धारित बीमादर उल्लंघन गरी व्यवसाय हात पार्न वा बीमालेखको
अन्तिम बीमाशुल्क निर्धारण गर्न र बीमाको सेवा सर्तहरू आफैले तोक्न ।
(ज) भ्रामक प्रचारप्रसारः आफू बीमा अभिकर्ता नभएको कुनै पनि बीमकको बारेमा वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताको बारेमा गलत वा अतिरञ्जित प्रचार प्रसार गर्न
(झ) जालसाजी र किर्ते: बीमक, बीमित वा अन्य पक्षसँग मिली वा नमिली बीमा सम्बन्धी कुनै जालसाजी वा किर्ते गरी वा गलत विवरण वा कागजात तयार गरी बीमा गर्ने दावी प्राप्त गर्ने वा बीमक वा बीमितको हित विपरीत कार्य गर्न।
(ञ) स्वामित्व र सञ्चालनमा बन्देजः कुनै बीमकको बीमा अभिकर्ता भई कार्यरत व्यक्ति वा संस्था वा सो संस्थाका सञ्चालक वा निजको एकाघर परिवारको सदस्यले सम्बन्धित बीमकको संस्थापक वा सञ्चालक हुन वा आधारभूत शेयर स्वामित्व धारण गर्न ।
(ट) कानुनको उल्लंघनः आफ्नो पेशागत व्यवसाय सञ्चालन गर्दा प्रचलित बीमा कानुन, भ्रष्टचार निवारण ऐन, सम्पत्ति शुद्धीकरण निवारण ऐन वा अन्य प्रचलित कानुन उल्लंघन हुने गरी कार्य गर्न ।

