काठमाण्डौ । अमेरिकी कम्प्युटर निर्माता डेलले आफ्नो सबैभन्दा सस्तो र हल्का ल्यापटप एक्सपीएस १३ सार्वजनिक गरेको छ। कम्पनीले यो नयाँ उत्पादनलाई बजारमा एप्पलको बजेट सेग्मेन्ट ल्यापटपसँग प्रतिस्पर्धा गर्न डिजाइन गरिएको बताएको छ।
नयाँ एक्सपीएस १३ को प्रारम्भिक मूल्य ६९९ डलर तोकिएको छ भने विद्यार्थीहरूका लागि विशेष छुटसहित ५९९ डलरमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो छुट १६ वर्ष वा सोभन्दा माथिका विद्यार्थीहरूका लागि ‘ब्याक टु स्कुल’ सिजनमा लागू हुनेछ।
कम्पनीका अनुसार यो मोडेल हालसम्मकै सबैभन्दा पातलो र हल्का एक्सपीएस ल्यापटप हो, जुन एप्पलको म्याकबुक नियो भन्दा करिब आधा पाउन्ड हल्का रहेको दाबी गरिएको छ। साथै, यसमा ठूलो डिस्प्ले पनि समावेश गरिएको छ।
पछिल्ला वर्षहरूमा बढ्दो मेमोरी चिप्सको लागत र पीसी बजारमा सुस्त वृद्धिका बीच कम्पनीले सबै मूल्य वर्गमा प्रतिस्पर्धा गर्ने योजना अघि सारेको छ।
एप्पलले हालै ल्याएको कम मूल्य भएको म्याकबुक ‘नियो’ले बजारमा ठूलो प्रभाव पारेपछि डेलले पनि समान रणनीति अपनाएको जनाइएको छ ।
नयाँ एक्सपीएस १३ मा इन्टेल कोर सिरिज प्रोसेसर प्रयोग गरिएको छ भने उच्च–स्तरीय मोडेलहरूमा इन्टेल कोर अल्ट्रा सिरिज ३ उपलब्ध हुनेछ। कम्पनीले भविष्यमा थप शक्तिशाली संस्करणहरू र नयाँ रंग विकल्प पनि सार्वजनिक गर्ने जनाएको छ।

