काठमाण्डौ। विशेष अदालतले भेपमार्फत सुन तस्करीमा सघाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरा लाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य बिदुर कोइरालाको इजलासले महरासँग १ लाख रुपैयाँ धरौटी माग गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म तारेखमा रिहा रहने व्यवस्था गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ चैत २६ गते महरा, उनका छोरा राहुल महरा सहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भित्रिएको सुन तस्करीमा सहयोग गरेको आरोप लगाएको छ।
अनुसन्धान अनुसार २०७९ पुस १० गते फ्लाई दुबईमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हाङ सोङले ल्याएको दुई वटा सुटकेशभित्र ७३० वटा विद्युतीय चुरोट (भेप) फेला परेका थिए। ती भेपभित्र सुन लुकाएर नेपाल भित्र्याइएको र त्यसमा तस्कर समूह तथा केही भन्सार कर्मचारीबीच मिलेमतो भएको आरोप छ।
अख्तियारको दाबी अनुसार शंकास्पद सामानको आवश्यक भौतिक जाँच नगरी भन्सार प्रक्रिया पूरा गरिएको थियो। साथै बरामद सामग्रीलाई गोदाममा नराखी प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखिएको तथा सुन छुटाउने समूहका व्यक्तिहरूसँग अस्वाभाविक भेटघाट र सम्पर्क भएको आरोप पनि मुद्दामा समावेश गरिएको छ।
महराले भने आफू सुन तस्करीमा संलग्न नरहेको दाबी गर्दै आएका छन्। यसअघि यही प्रकरणमा विभिन्न चरणमा पक्राउ, थुनछेक तथा धरौटीसम्बन्धी आदेशहरू समेत जारी भएका थिए।

