काठमाण्डौं । सामाजिक सञ्जाल टिकटकमार्फत परिचित बनेकी तुलसा अधिकारीलाई ललितपुर जिल्ला अदालतले अनुसन्धान अवधिभर पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार उक्त निर्णय सुनाएको हो।
कुमार चिमोरियाले दिएको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा अधिकारीसहित १० जनाविरुद्ध आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप लगाइएको छ।
अनुसन्धान निकायले उनीहरूविरुद्ध संगठित रूपमा आर्थिक अनियमितता गरेको आशंका व्यक्त गरेको छ।
प्रहरीको अनुसन्धानमा तुलसा अधिकारीको नाममा रहेको करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको वैधानिक स्रोत पुष्टि हुन नसकेको दाबी गरिएको छ।
सोही आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग दर्ता गरिएको हो।
झण्डै एक वर्षदेखि फरार सूचीमा रहेकी अधिकारीलाई इन्टरपोलको समन्वयमा थाइल्यान्डबाट पक्राउ गरी गत जेठ १५ गते नेपाल ल्याइएको थियो।
त्यसपछि उनीमाथि अदालतमा मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाइएको थियो।
अदालतले थुनामा राखेर मुद्दाको थप अनुसन्धान र सुनुवाइ अघि बढाउन आदेश दिएपछि अधिकारीलाई कारागार पठाउने प्रक्रिया शुरु गरिएको छ।
मुद्दाको अन्तिम फैसला भने आगामी सुनुवाइपछि हुने जनाइएको छ।

