काठमाण्डौ । आगामी फिफा विश्वकप फुटबल प्रतियोगिता शुरु हुन केही घण्टाअघि हङकङका भन्सार अधिकारीहरूले करिब २ लाख ३० हजार थान शंकास्पद नक्कली सामान बरामद गरेका छन्। बरामद गरिएका सामानहरूको अनुमानित मूल्य २ करोड अमेरिकी डलर रहेको अधिकारीहरूले बताएका छन्।
बरामद सामग्रीमध्ये करिब ३० हजार वटा फुटबल जर्सी रहेका छन्, जसमा धेरैजसो विश्वकपमा सहभागी टोली तथा खेलाडीहरूको आधिकारिक जर्सीको नक्कल गरिएको पाइएको छ। केही जर्सी यति उच्च गुणस्तरका थिए कि तिनलाई वास्तविक जर्सीबाट छुट्याउन समेत कठिन रहेको हङकङ भन्सार विभागका वरिष्ठ निरीक्षक वाइन चुङले बताएका छन्।
अधिकारीहरूका अनुसार सबै नक्कली सामान विदेश निर्यातका लागि तयार पारिएका थिए। तीमध्ये झण्डै ८० प्रतिशत सामान अमेरिका महादेशतर्फ पठाउने योजना रहेको थियो, जहाँ अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा विश्वकप आयोजना गरिरहेका छन्।
जर्सीबाहेक नक्कली जुत्ता, घडी, स्पिकर तथा विलासी ब्रान्डका ह्यान्डब्यागहरू पनि बरामद गरिएको छ। अनुसन्धानका क्रममा छ जना व्यक्तिलाई पक्राउ गरिएको छ, जसमा एक ट्रक चालक र अनलाइनमार्फत नक्कली जर्सी बिक्रीमा संलग्न पाँच जना रहेका छन्। यद्यपि उनीहरूलाई हाल धरौटीमा रिहा गरिएको छ।
हङकङ भन्सार विभागले नक्कली सामानको आयात, निर्यात, बिक्री वा बिक्रीका लागि भण्डारण गर्ने व्यक्तिलाई दोषी ठहर भएमा अधिकतम पाँच वर्षसम्म कैद र करिब ६४ हजार अमेरिकी डलरसम्म जरिवाना हुन सक्ने चेतावनी दिएको छ।

