काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२९ प्रतिशत अर्थात ८.१४ अंकले बढेर २ हजार ७२८.०३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४६७.६२ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३५० वटा स्क्रिप्टको ९२ लाख ३१ हजार २१६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ९० करोड ६२ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने ४ अर्ब २९ करोड ७४ लाख बढीको सेयर कारोबार भएको थियो।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘अहिले बजार बढ्नका लागि त्यस्तो केही सूचना तथा समाचारहरु आएका छैनन् । यो समय बजार तटस्थ रहने वा घट्ने सिजन पनि हो । असारको अन्तिम वा साउन महिना लागेपछि मात्रै बजार बढ्न सक्ने आंकलन गर्न सकिन्छ । सेयर लगानीकर्ताहरुले बजेटपछि बजार बढ्ने आशा गरेका थिए र तर पछिल्लो सरकारको कामकारबाहीमा लगानीकर्ताले विश्वास गर्न सकिरहेका छैनन् जसकारण बजेटमा केही सकारात्मक नीति आएपनि कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने कुरामै लगानीकर्ता अन्योलमा छन् ।’
उनले थपे, ‘अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धानले गर्दा ठूला लगानीकर्ता तथा व्यवसायीहरु त्रसित छन् । जसरी समुन्द्रमा उछाल आउन ह्वेल चल्नुपर्छ त्यसरी नै नेपालको पूँजीबजार चलायमान हुन पनि ठूला लगानीकर्ताहरु बजार छिर्न आवश्यक छ । सरकारको अपत्यारिलो गतिविधिले गर्दा आर्थिक चलायमान पनि हुन सकिरहेको छैन र यसले सिंगो पूँजीबजारलाई समेत असर पारेको छ । तर एक हिसाबमा हेर्दा ‘लङ टर्म इन्भेष्ट’मा भने ‘बुलिस’ नै देखिन्छ । जबसम्म मार्केट २७ सय माथि नै रहन्छ, तबसम्म त्यति डराउनुपर्ने अवस्था रहँदैन तर २७ सय भन्दा तल गयो भने बजारमा प्यानिक सेल आउन सक्छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये २ वटा समूहमा हरियाली छायो भने ११ वटामा रातो पोतियो । आज होटल र उत्पादन तथा प्रशोधन समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.४७ र ०.२६ प्रतिशतले् बढे ।
आज फाइनान्स समूह सर्वाधिक अर्थात १.४५ प्रतिशतले घट्यो । यस्तै आज बैंकिङ समूह ०.२५ प्रतिशत, विकास बेंक ०.४१, हाईड्रो ०.१८, लगानी ०.२२, जीवन बीमा ०.२१, लघुवित्त ०.२८, म्युचुअल फण्ड ०.२०, निर्जीवन बीमा ०.१७, अन्य ०.९१, र व्यापार १.२३ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज सिटी होटल्सको सर्वाधिक अर्थात २३ करोड ६३ लाख बढीको सेयर कारोबार भयो । यस्तै सेन्ट्रल फाइनान्सको १७ करोड ५६ लाख, बुङ्गल हाईड्रोको १६ करोड ४५ लाख, पिपुल्स हाईड्रोको १५ करोड ९० लाख र आँखुखोला जलविद्युतको १५ करोड ५८ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज सोपान फर्मास्युटिकल्स र एपोलो हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ८.३३ प्रतिशत, अपर लोहरे खोला हाईड्रोको ६.०७ र पिपुल्स हाईड्रोको सेयरमूल्य ५.३३ प्रतिशतले बढ्यो ।
यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १३.५१ प्रतिशतले घट्यो ।

