काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१८ प्रतिशत अर्थात ५.०६ अंकले घटेर २ हजार ७००.४७ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ४६३.६६ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टको ७७ लाख ४३ हजार ३० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ४१ करोड ४८ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ६३ करोड ७५ लाख बढीको सेयर कारोबार भएको थियो।
आजको बजारबारे भिजन सेक्युरिटिजका अध्यक्ष राजकुमार तिमिल्सिनाले अहिले लगानीकर्ताहरु पर्ख र हेरकै अवस्थामा रहेका कारण बजार चलायमान हुन नसकेको बताए ।
‘यतिबेला सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानमा केही ठूला लगानीकर्तालाई अनुसन्धान गरिरहेको छ, जसकारण अन्य लगानीकर्ता समेत त्रसित छन् र लगानीकर्ताले बजारमा सेयर खरिदबिक्री नगरेका कारण भोल्युम बढ्न सकिरहेको छैन’ उनले भने, ‘अब तत्कालै बजार बढीहाल्ने अवस्था देखिदैन । बजारलाई सकारात्मक प्रभाव पार्ने खालको समाचारहरु पनि आएका छैनन् । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन् । नयाँ आव सुरु भएपछि सरकारले बजेटमार्फत सम्बोधन गरेको एनआरएनलाई बजारमा भित्र्याउनेलगायतका नीतिहरु कार्यान्वयन भएमा बजार बढ्न सक्ने आशा गर्न सकिन्छ ।’
यस्तै बजार जानकार सुवास भट्टराई भन्छन्, ‘सरकारको धरपकडले गर्दा सेयरबजार साइडवेजमा बसेको छ । नेपालको सेयरबजारलाई अन्तर्राष्ट्रिय प्रभाव देखिएको छैन । डलर, सुन र तेलको मूल्य घटेसँगै अन्य राष्ट्रका सेयरबजार बढेका छन् तर नेपालमा सरकारले लगानीकर्ताको मनोबल उकास्न नसक्दा केही समययता बजार सुस्त गतिमा चलेको छ । लगानीकर्ताले स्थिर सरकार पाएपनि पूँजीबजारमैत्री पोलिसी पाउन नसक्दा बजारले लय लिन सकेको छैन । बजेटमार्फत पूँजीगत लाभकर बढाउनु नै बजार घट्नुको मुख्य कारणमध्ये एक हो ।’
उनले थपे, ‘यहिबाटै अहिलेको सरकार लगानीकर्ताको हितमा छैन भन्ने देखिन्छ । सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउनु पनि एउटा मुख्य कारण हो । यस्तै गतिविधिका कारण लगानीकर्ताहरुले अहिलेको सरकारलाई विश्वास गर्न सकिरहेका छैनन् । लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारले पहल गरेको देखिदैन । अब मौद्रिक नीतिमार्फत बजारको लागि केही आउला कि भन्ने आशा मात्रै छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये पाँचवटा समूह बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात ०.३१ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.०२ प्रतिशत, फाइनान्स ०.२०, लघुवित्त ०.०४ र म्युचुअल फण्ड ०.१९ प्रतिशतले बढ्यो ।
यो दिन अन्य समूह सर्वाधिक अर्थात ०.८६ प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह ०.५६ प्रतिशत, होटल ०.४४, हाईड्रो ०.१२, लगानी ०.६२, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.१० र निर्जीवन बीमा समूह ०.८६ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ३१ करोड ९८ लाख बढीको सेयर कारोबार भयो । यस्तै युनाइटेड मोदी हाईड्रोको २३ करोड ५ लाख, सिईडिबि होल्डिङको १४ करोड ८ लाख, बुङ्गल हाईड्रोको १२ करोड ५४ लाख र सिद्धार्थ बैंकको १२ करोड २४ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज सोपान फर्मास्युटिकल्स र एपोलो हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १२.५३ प्रतिशत, बुङ्गल हाईड्रोको ८.५६ र भुजुङ हाईड्रोको सेयरमूल्य ६.३० प्रतिशतले बढ्यो ।
यो दिन आँखुखोला जलविद्युतको सेयरमूल्य सर्वाधिक अर्थात ४.०१ प्रतिशतले घट्यो ।

