काठमाण्डौ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने १ हजार ७८२ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
कारबाहीबाट राज्यकोषमा करिब रु ४ लाख ९४ हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने ८३ जना रहेका छन्।
त्यसैगरी नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ७५ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ८२ जना र तीव्र गतिमा सवारी चलाउने ११० जना चालक कारबाहीमा परेका छन्।
यस्तै, लेन अनुशासन पालना नगर्ने ६५ जना, निषेधित क्षेत्रमा अनावश्यक रूपमा हर्न बजाउने ७१ जना तथा सडकपेटीमा सवारी साधन पार्किङ गर्ने ८७ जनालाई पनि कारबाही गरिएको छ।
यसैगरी एकतर्फी बाटोमा सवारी चलाउने ६८ जना चालक पनि कारबाहीको दायरामा परेका छन्।
बाँकी १ हजार १४१ जना भने अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनका कारण कारबाहीमा परेको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी नियमको पालना नगर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले सबै चालकलाई जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

