काठमाण्डौ । सिरहाको औरही गाउँपालिका–५ स्थित गागन खोलामा निर्माणाधीन पुल नजिकैको सडक भासिएपछि हुलाकी राजमार्ग भएर चल्ने सवारीसाधन वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ।
स्थानीयका अनुसार पुल निर्माणका क्रममा जथाभावी माटो उत्खनन र वर्षाका कारण भएको तीव्र कटानले सडकको भित्री संरचना कमजोर बनेर भासिएको हो।
बाहिरबाट सामान्य देखिए पनि भित्र ठूलो क्षति भएकाले सडक थप भासिने खतरा रहेको उनीहरूको भनाइ छ।
निर्माण कम्पनीको लापरबाहीका कारण समस्या उत्पन्न भएको भन्दै स्थानीयले सुरक्षा व्यवस्थाको अभाव र ढिलाइप्रति असन्तुष्टि जनाएका छन्।
रातिको समयमा उक्त सडक खण्ड अझ जोखिमपूर्ण बनेको उनीहरूले बताएका छन्।
हुलाकी सडक निर्देशनालय, जनकपुरका अनुसार क्षतिग्रस्त सडक तत्काल वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ।
मर्मतका लागि निर्माण कम्पनीलाई निर्देशन दिइएको छ भने मौसम अनुकूल रहेमा एकदेखि दुई साताभित्र सडक पुनः सञ्चालनमा ल्याउन सकिने अनुमान गरिएको छ।
४० मिटर लामो उक्त पुल २०८२ असार ४ गते ठेक्का सम्झौता भई २०८४ असार ३ भित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको हो।
यसैबीच हुलाकी राजमार्गअन्तर्गत अन्य पुल निर्माण कार्यमा भइरहेको ढिलाइका कारण यात्रुहरू लामो तथा वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्।

