काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ७० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ७९ दिनका लागि उठाउन लागेको हो।
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २६ गते हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम राख्न तथा मौद्रिक स्थायित्व सुनिश्चित गर्न नियमित रूपमा यस्ता उपकरणहरू प्रयोग गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।