काठमाण्डौ । बिहिबार पनि सेयरबजार घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से(परिसूचक ०.३१ प्रतिशत अर्थात ८.५० अंकले घटेर २ हजार ६५१.५२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले घटेर ४५८.२३ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३३८ वटा स्क्रिप्टको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ८३ करोड ८२ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ४१ करोड बढीको सेयर कारोबार भएको थियो।
आजको बजारबारे बजार जानकार बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘अहिले बजार साइडवेजमै चलिरहेको छ । विभिन्न खालका समाचारहरुले बजार झनै खस्किदै गएको छ । विशेषगरी लगानीकर्ताको मनोबल घट्दै गएपछि बजार साइडवेजमा चल्न थालेको हो । बजार बढ्नका लागि खरिदकर्ता हाबी हुनुपर्छ र मार्केटमा भोल्युम वृद्धि हुनुपर्छ तर पछिल्लो समय भोल्युम हेर्ने हो भने ५ अर्बभन्दा मुनि छ ।’
उनले थपे, अहिले लगानीकर्तालाई लगानी गरिहालौं भन्ने अवस्था छैन । बजारले मोमेन्टम बनाउनका लागि केही राम्रो कुरा चाहिन्छ, तत्कालै हेर्दा बजार बाउन्स हुने छाँटकाँट छैन । मौद्रिक नीतिपछि बजार बढ्न सक्ने अपेक्षा त गर्न सकिन्छ, तर ठूला व्यवसायीहरु नै अहिले बजारमा नभएका कारण खासै बजारमा बाउन्स देखिदैन ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह मात्रै बढ्यो । यो समूह आज ०.१४ प्रतिशतले बढ्यो ।
यो दिन व्यापार समूह सर्वाधिक अर्थात १.९६ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.१९ प्रतिशत, विकास बैंक ०.१५, होटल ०.५३, हाईड्रो ०.४१, लगानी ०.१६, जीवन बीमा ०.२२, लघुवित्त ०.१५, म्युचुअल फण्ड ०.१४, निर्जीवन बीमा ०.४० र अन्य समूह ०.४७ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज सोपान फर्मास्युटिकल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १२ करोड ७७ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पिीनिङ मिल्सको १२ करोड ८ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५९ लाख, आँखुखोला जलविद्युतको १० करोड ३५ लाख र नेपाल एसबीआई बैंकको ८ करोड १५ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज टक्सार पिखुवाखोला हाईड्रोपावर र याम्बालिङ हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै कालिका लघुवित्तको सेयरमूल्य १२.८४ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.२० र रिलायन्स स्पीनिङ मिल्सको सेयरमूल्य ३.२३ प्रतिशतले बढ्यो ।
यो दिन भुजुङ हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ११.०३ प्रतिशतले घट्यो । यस्तै सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ८.९७ प्रतिशत र भगवती हाईड्रोको सेयरमूल्य ५.८४ प्रतिशतले घट्यो ।

